धरान: आगामी फागुन १३ र १४ धरानमा कर्पोरेट गल्फ प्रतियोगिता हुने भएको छ । 

बाह्रखरी मिडियाले आइतबार धरानस्थित गल्फ कोर्समा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिताका निर्देशक दीपक आचार्यले धेरै खेलाडीलाई सहभागि गराउने उद्देश्यले दुई दिन आयोजना हुने बताए । प्रतियोगिता स्टेवल फोर्ड ३÷४ ह्याण्डीक्याप फर्मेटमा खेलाइने पनि उनले बताए । गल्फ कोर्ष ९ होलको भएकोले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने उनको भनाई थियो । 

विजेता, उपविजेता, बेष्ट ग्रस, मोस्ट वर्डि, लंगेष्ट ड्राइभलगायत विधामा पुरस्कार दिइनेछ भने ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कार दिइने आचार्यले जानकारी दिए । प्रतियोगिताको प्रमुख आर्कषक गोल्डेन बल दिइने र यो संसारमा कहिँ पनि नभएको उनले बताए । 

बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रदेश एकको समृद्धिमा जोड दिएर गल्फसँगै अन्य कार्यक्रमहरु पनि आयोजना हुने बताए । “इटहरीमा योङ आन्टरप्रिनुअर्ससँग मिलेर कार्यक्रम आयोजना हुनेछ, विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समीट पनि आयोजना गरेका छौँ,’सम्पादक प्रधानले भने,‘हामीले यस प्रदेशका विभिन्न पाँच स्थानमा राउन्ड टेबल आयोजना गरेका छौँ । त्यो रिपोर्टाजपछि हामीले समाचार प्रकाशित गर्नेछौँ भने त्यसपछि कार्यक्रममा सहजीकरणका लागि सहज हुनेछ ।” 

पूर्व अर्थसचिव रामेश्वर खनालले गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए । इकोनोमिक समीटमा कार्यपत्र प्रस्तुतीका सम्बन्धमा उनले जानकारी गराउँदै यस कार्यक्रमले अर्थतन्त्रको रुपान्तरणका लागि सहयोग पुगोस् भन्ने लागेको बताए । “आर्थिक गतिविधिमा सीमित व्यक्तिको नियन्त्रणमात्रै रहनुहुँदैन भन्ने लाग्छ,” खनालले भने, “कार्यक्रमबाट निकालिएका निष्कर्षले नीति निर्माणमा सहयोग पुगोस् भनेर एक वर्ष बाह्रखरीले रिपोर्टिङ गर्ने प्रतिवद्धता पनि जनाएको छ ।” 

baahrakhari1

पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताए । उद्योग संगठनसँगै मिलेर इकोनोमिक समीट हुन लागेको जानकारी दिदै उनले यो क्षेत्रकै लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे। त्यसैगरी युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले यस क्षेत्र उद्यमीको केन्द्र रहेको बताउँदै यो कार्यक्रम समृद्धिको इन्जिन भएको बताए । “यो समृद्धिको इन्जिन हो,” उनले भने, “प्रदेश एक धेरै अघिदेखि नै उद्यमीको लागि राम्रो ठाउँ हो । अहिले आयोजना गर्न लागिएको गल्फसँगै युवा उद्यमीका अभियान लिएर जसरी हिँड्न लागिएको छ । त्यसले ठूलो सहयोग पु¥याउनेछ ।”

व्यवसायी तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले सगरमाथाको काखमा गल्फ गर्नु नै ठूलो सफलता भएको बताए । उनले धेरैलाई अनौठो लाग्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । “बाह्रखरीले सगरमाथाको काखमा गल्फ आयोजना गर्ने भन्दा हामीलाई अनौठो लागेको थियो । यो कार्यक्रम गर्नु नै ठूलो सफलता हो । एउटा न्युज मिडियाले आफ्नो कामबाहेक खेललाई आधार बनाएर एउटा प्रदेशको समृद्धिमा टेवा पु¥याउनका लागि गरेको सहयोगको जति प्रशंसा गरे पनि पुग्दैन,” उनले भने ।

उनले संकटको समयमा पनि आर्थिक समृद्धिका लागि बाह्रखरीले यस्तो कार्यक्रम गरेको भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । त्यसैगरी धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।