धरान ः धरानमा आइतबार विभिन्न विद्यालयका ४ हजार ३ सय बढी बालबालिका एवं विद्यार्थीहरुले कोरोना विरुद्धको खोप लगाएका छन् ।
धरान उपमहागनरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विभिन्न ११ वटा खोप केन्द्रमा पहिलो दिन ४ हजार ३ सय ९७ जनाले खोप लगाएका हुन् । ती मध्ये २ हजार ११८ पुरुष र २ हजार २ सय ७९ जना महिला रहेका छन् । १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुलाई मोर्डना खोप दिइएको हो ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार युरेका उच्च माविमा रहेको खोप केन्द्रमा ५४० जनाले खोप लगाएका छन् भने धरान आदर्श कलेज साइन्स ब्लकमा पनि ५४० जनाले खोप लगाएका छन् । यसैगरि, धरान उच्च कलेजमा ३४७, शिक्षा निकेतन माविमा ६१५, भानु स्मृति माविमा २८१, आधारभुत विद्यालय हर्दियामा ४० जनाले खोप लगाएका छन् ।
यस्तै, हिमाली मावि देउरालीमा ४६०, सरस्वती मावि पानवारीमा ८६०, सहिद स्मृति माविमा २००, ल्याबोरेटरी माविमा २८७ जनाले खोप लगाए भने समटि सेकेण्डरी स्कुलमा २२७ जनाले खोप लगाएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
सोमबार यी विद्यालयमा हुनेछ खोप केन्द्र
सोमबार (भोली) पनि धरानको विभिन्न ११ स्थानमा खोप केन्द्र रहने स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वडा ९ को विष्णु मेमोरियल स्कुल, वडा १० को पञ्चायत मावि, वडा ११ को ज्ञानोदय मावि र लिबर्टी बोर्डिंग स्कुल, वडा १४ को आइडियल बोर्डिंग स्कुल, वडा १२ को एम्स एकेडेमी र हिमालय बोर्डिं स्कुलमा खोप केन्द्र रहनेछ ।
यस्तै, वडा १२ कै सुनाखरी एकेडेमी, वडा नं १३ को पब्लिक मावि फुस्रे र सैनिक आवासिय महाविद्यालयमा पनि खोप केन्द्र हुनेछ भने वडा १३ कै नेपाल पुलिस स्कुलमा पनि खोप केन्द्र रहनेछ ।