धरानः बजार अनुगमन प्रभावकारीरुपमा गर्न माग गर्दे धरानका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाइएको छ । 

नेपाल नागरिक समाज सुनसरीले दैनिक उपभोग्य खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्रीहरुको कृतिम अभावको सृजना गरिएको र आफूखुशी मूल्यवृद्धि गरेकोले आम मानिसको जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै मेयर राईलाई ज्ञापन पत्र बुझाएको हो । समाजका कार्यवाहक अध्यक्ष दिवस पोखरेलले कोभिड १९ को महामारीमा जनताले अझ सहज र सुलभ तरिकाले दैनिक उपभोग्य सामाग्रीहरु पाउनु पर्ने माग राखे । उनले सरोकारवाला निकाय, प्रशासन, पत्रकार तथा नेपाल नागरिक समाजको संलग्नतामा चाँडो स्थानीय सरकारको तर्फबाट धरान उपमहानगरपालिकाले बजार अनुगमन गरी उपभोक्ताहरुलाई सहज बनाउन आग्रह गरे । 

ज्ञापन पत्र बुझ्दै मेयर राईले उपमहानगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने कार्य गरिरहेको जानकारी गराए । कोरोना महामारीको बिचमा पनि उद्योग वाणिज्य संघ र केन्द्रिय प्रविधि क्याम्पसका प्रतिनिधिसँग समन्वय गरेर तालिका बनाएर बजार अनुगमनलाई निरन्तरता दिएको उनले स्मरण गराएका थिए । आगामी दिनमा बजार अनुगमनमा जादाँ नेपाल नागरिक समाजसँग पनि समन्वय गरेर अगाडी बढ्ने मेयर राईले प्रतिवद्धता व्यक्त गरे । मेयर राईले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग पनि सहकार्य गरेर धरानका केही वडाहरुमा सचेतनामुलक तालिम दिनुका साथै उपभोक्तालाई पनि सचेत गराएको जानकारी गराए ।