धरान: कफीको पारखीहरुको सहर हो धरान । कफीका पारखीहरुलाई लक्षित गरेर धरानका दुई महिला मिलेर कफि सप खोलेका छन् ।

धरान ११ स्थित शान्ति चोकमा इष्टर्न कफी सप सञ्चालनमा आएको हो । यो कफी सप अञ्जना राई र डेनी राईले शुरु गरेका हुन् । अञ्जना धरानमा एक घर एक कफी अभियान चलाइरहेकी अभियन्ता पनि हुन् । अञ्जना र डेनीको संयुक्त लगानीमा शुरु भएको कफी सपको सोमबार संविधानसभाका सदस्य किरण राईले रिबन काटेर उद्घाटन गरेका थिए ।

हालसम्म कफी सपमा १५ लाख लगानी भइसकेको सञ्चालिकाद्धयले जानकारी दिए । लगानी अझै बढ्ने उनीहरुको भनाई छ । कफी सपमा अत्याधुनिक मेशिन रहेको सञ्चालिका अञ्जनाले जानकारी दिइन् । उनका अनुसार सपमा कफीको विभिन्न १५ किसिमको स्वाद पारखीहरुले पाउनेछन् । ‘जाडो र गर्मी दुवै मौषमको लागि उपयुक्त कफी पाइन्छ,’उनले भनिन् ।

eastern-coffe2

विगत ७ बर्षदेखि कफीको रिसर्च गरिहेकी अञ्जनाका अनुसार इष्टर्न कफीलाई ब्राण्डकोरुपमा स्थापित गराउन खोजीरहेको पनि बताइन् । भविष्यमा कफी आफै उत्पादन गर्ने र ब्राण्ड बनाउने उनले बताइन् । 

कफी सपमा कफीको किसिमसँगै अर्गानिक खाजा पनि ग्राहकहरुले पाउने सञ्चालिका डेनी राईले बताइन् । उनका अनुसार कफी सपमा ग्राहकहरुले कोदोको रोटी, फापरको रोटी, भटमास भुटेको, जुम्लाको पोलेको आलुलगायत खाजा पनि पाउनेछन् । ‘नेपालकै गाउँघरमा उत्पादन भएको मौलिक आइटमहरुको खाजा पाइन्छ,’उनले भनिन् । कफी सपमा भविष्यमा बेकरी पनि शुरु गर्ने योजना रहेको उनले सुनाइन् । 

eastern-coffe1