धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा २१, धनकुटामा ७, झापामा ६, उदयपुरमा २, तेहृथुममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा १८, जहदा, ग्रामथान, लेटाङ, बेलबारी र स्थानीय तह नखुलेका १–१ जना छन् भने सुनसरीको धरानमा १७, इटहरीमा ४ जना छन् । यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ४, मेचीनगर र विर्तामोडमा १–१, उदयपुरमा २, तेहृथुममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप ६६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३१४ महिला र ३४८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ४७६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।