धरान: धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ ।

मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देशीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सहकारी संस्था लि. का कृषकलाई पावर ट्रिलर हस्तान्तरण गरेका छन् । 

कृषि शाखा अधिकृत भक्तिराज शर्माका अनुसार धरान उपमहानगरपालिकाले यहाँ रहेका कृषकहरुको व्यवसाय प्रर्वद्धन र सहजताका लागि आधुनिकिकरण कार्यक्रम अन्तर्गत विभिन्न प्याकेजहरु ल्याएको हो । ती मध्ये पनि किसानहरुको पेशालाई प्रर्वद्धन गर्नका निम्ति खेतबारी जोत्ने पावर ट्रिलर कृषकहरुलाई प्रदान गरिएको बताए । उनले कृषकहरुको २५ प्रतिशत लगानी र नगरपालिकाको ७५ प्रतिशत लगानीमा प्रतिकोटा ६४ हजार रुपैयाँमा पावर ट्रिलर खरिद गरिएको जानकारी दिए । 

मेयर राईले धरानका वडा नं. ४, ५, ६ र २० कृषि जोनको रुपमा बताए । त्यस क्षेत्रका किसानहरुलाई कृषिका सामग्रीहरू उपमहानगरपालिकाले सहयोग गर्दै आइरहेको पनि मेयर राईले स्मरण गराए । उनले स्थानीय तहबाट प्राप्त भएको मेशिनरी औजार, मल, बिउविजनहरूको अधिकतम रूपमा सदुपयोग गरेर उत्पादन गर्न पनि सुझाव दिए । अनुदान लाने कृषकले आफ्नो वरपरका छरछिमेकलाई सहयोग गर्नुका साथै प्राविधिक ज्ञान हस्तान्तरण गर्न पनि मेयर राईको आग्रह थियो ।