धरान: नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ ।
संघको जिल्ला समिति अध्यक्षमा एलकन थापा मगर चयन भएका छन् । समितिको उपाध्यक्षमा अशेस राई, सचिवमा नविन राई, सह(सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् । सदस्यहरुमा सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे रहेका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपतिको प्रमुख आतिथ्यतामा संघको जिल्ला समिति गठन भएको हो । नवगठित समितिका पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष कक्षपतिले खदा लगाएर शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
केन्द्रीय अध्यक्ष कक्षपतिले मुवाँथाई राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको खेल भएता पनि ओझेलमा परेको बताए । उनले मुवाँथाई खेललाई एक उग्र खेल भन्ने गरिएको कारण पनि यो खेलमा कमैको मात्र रुचि भएको देखिएको बताए । उनले उनले यो खेलमा शक्तिसँगै धैर्य भएर खेल्नुपर्ने पनि बताए । उनले संघको मुख्य उद्देश्य नै खेललाई व्यावसायीकरण गर्नु भएको बताउँदै उक्त कार्यको सुरुवात सुनसरी जिल्लाबाट नै गर्ने बताए ।
बडिबिल्डिङ फिटनेस संघ सुनसरीका उपाध्यक्ष सञ्जिव वान्तावाले संघलाई स्थानिय तहमा समन्वय गरेर अघि बढ्न सुझाव दिए । बास्केटबल प्रशिक्षक तथा पत्रकार विकास चाम्लिङ राईले संघलाई शुभकामना दिदै शिक्षा र खेलकुदलाई सँगै लैजान सकेमा खेल र खेलाडी दुवैको स्तर राम्रो बन्ने बताए । उनले विद्यालय क्षेत्रबाट नै अघि बढ्न र विशेष गरी प्रशिक्षक उत्पादनमा जोड दिन सुझाव दिए । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खेलको प्रचारप्रसारका साथै त्यससम्बन्धि जानकारी जनमानससम्म पुर्याउने कार्यमा महासंघले सधै साथ दिने बताए ।
के हो मुुवाँथाई ?
मुवाँथाईलाई “थाई बक्सिङ” भनेर पनि भन्ने गरिन्छ । यो एकप्रकारको मार्शल आर्ट र लडाई सम्बन्धि खेल हो । जसमा मुट्ठी, कुहिनो, घुँडा र पिडुलाको प्रयोग गरी अनुशासनभित्र रहेर खेल्ने गरिन्छ ।
यो खेल पहिलोपटक १८ औँ सताब्दिको मध्यतिर थाइल्याण्डमा खेलिएको मानिन्छ । २० औँ शताब्दीको उत्तरार्धदेखि २१ औँ शताब्दीमा आइपुग्दा मुवाँथाईले अन्तर्राष्ट्रिय रुपमा नै व्यापकता फैलाएको हो ।
विशेषगरी वास्तविक युद्धको लागि एक व्यावहारिक लडाई प्रविधिको रुपमा मुवाँथाई सुरुवात भएको भएतापनि हाल यो खेल नियम सहित अनुशासनका साथ खेल्ने गरिन्छ । मुवाँथाई थाइल्याण्डको राष्ट्रिय खेल हो ।