धरान: सुनसरीको दुहबीस्थित एक कुखुरा फर्म बर्ड फ्लु रोग भएको पुष्टि भएको छ । 

दुहबी नगरपालिका ३ स्थित सुरेश तिवारीको सन्देश कृषि फर्ममा रहेको बोइलर कुखुरामा बर्ड फ्लु रोग पुष्टि भएको हो । उक्त फर्मको बोइलर कुखुराको नमुना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्ड फ्लु रोग नजिता प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । उक्त फर्ममा बर्ड फ्लु पुष्टि भएपछि पशु सेवा विभागले हिजो जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । 

विभागको पत्र पाएपछि आज बिहान सुनसरीमा बर्ड फ्लु नियन्त्रण समितिको बैठक बसेको थियो । उक्त बैठकले कृषि फर्मलाई केन्द्र विन्दु मानेर चारै दिशाको क्षेत्रमा रोग नियन्त्रण कार्य गर्ने निर्णय गरिएको छ । जसअनुसार पुर्वमा सोनापुरदेखि कदमगाछी जाने कच्ची सडकको सिमाना, पश्चिममा बाँसघारी र सानो खोल्सीको सिमाना, उत्तरमा बाँसघारी र दक्षिणमा दुर्गा, पचु खानको घर र बासघारीसम्म चारै दिशाको परिधि तोकिएको छ ।

बैठकमा सहभागी सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार अब चार किल्ला तोकिएको क्षेत्रका पंक्षीजन्य सबै नष्ट गरिनेछ भने त्यसक्षेत्रका फार्महरु ४२ दिनसम्म सिल गरिनेछ । ‘त्यसक्षेत्रको पंक्षीजन्य कुखुरा, हाँस, परेवालगायत सबै नष्ट गरिन्छ । अण्डा, दाना, चल्लाहरु, अण्डा राख्ने क्रेट पनि नष्ट गर्नुपर्छ,’उनले भने,‘४२ दिनसम्म चार किलाभित्रको फार्महरु सिल गरेर डिस्इन्फेक्ट गर्नुपर्ने हुन्छ ।’ 

यसैगरि, बर्ड फ्लु नियन्त्रणको लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुनसरीमा कन्ट्रोल रुम स्थापना गरि जनशक्ति व्यवस्थापन गरि आवश्यक नियन्त्रण कार्यहरु सञ्चालन गर्ने पनि निर्णय गरिएको छ भने आवश्यक पर्ने लजिष्टिक्सहरु हाल भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीबाट व्यवस्थापन खर्च भएको सामग्रीका विवरणसहित कृषि मन्त्रालय प्रदेश नं १ सँग माग गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।