काठमाडौं: अमेरिकी सहयोग परियोजना एमसीसीलाई सरकारले जर्बजस्ती अघि बढाए नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने भएको छ । 

आज संसद बैठक बस्नु अघि बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले असमान सर्तहरु संशोधन नगरि एमसीसी अघि बढाएर पास गर्न नसकिने निर्णय गरेको हो । सरकारले जर्बजस्ती अघि बढाएमा गठबन्धन तोडिने माओवादी केन्द्रले चेतावनी पनि दिएको छ ।

एमसीसी संसदबाट पास गर्नुपर्ने समय नथपिने भएपछि जसरी पनि पास गर्नुपर्ने बाध्यतामा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । आजको संसद बैठकमा एमसीसी अनुमोदनको लागि पेश गर्ने योजनामा छन् । तर, सत्तारुढ गठबन्धनभित्र नै यस बिषयमा सहमति जुटेको छैन । कांग्रेसले हिजो एमसीसी नेपालको हितमा भएकोले पास गर्ने निर्णय गरिसकेको छ । 

संसदीय दलको बैठक पछि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन नसकिने प्रतिक्रिया दिए । उनले सरकारले जबरजस्ती रुपमा ल्याए एमसीसी संसदमा ल्याएमा विपक्षमा मतदान गर्ने निर्णय भएको पनि जानकारी दिए । गुरूङले गठबन्धनको सहमतिबिना सरकारले एमसिसी टेबल गरे गठबन्धन भत्किने बताए।

गठबन्धनको सहमतिबिना कांग्रेसले टेबल गरे गठबन्धन भत्किने गुरूङको भनाई थियो । उनले भने,‘ ‘पाँच दलको निर्णयबिना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयबिना कुनै घटकले अगाडि बढायो भने गठबन्धन तोडियो भन्ने हुन्छ । गठबन्धन भत्किएपछि हामी सरकारमा बस्दैनौं।’

प्रधानमन्त्री देउवा र प्रचण्डको वार्ता हुदै

माओवादी केन्द्रको संसदीय दलको बैठक लगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् । अहिले देउवा र दाहालबीच वान टु वान वार्ता भइरहेको छ । अध्यक्ष दाहालले संसद बैठकमा एमसिसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई अनुरोध गर्ने संसदीय दलको बैठकमा बताएका थिए । दलको बैठकमा अध्यक्ष दाहालले प्रतिपक्षी एमालेको संसद अवरोध हट्नुपर्ने र राष्ट्रिय सहमति गरेर मात्र पारित हुनुपर्ने बताएका थिए ।