धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले सञ्चालन गरेको संगठन सशक्तिकरण र सुदृढिकरणको अभियान बराह नगरपालिकाको वडा नं. ३, ४ र ५ मा सम्पन्न भएको छ ।
अभियानले कांग्रेसको तल्लो तहका टोल कमिटि र वडा कमिटि तथा वडा अन्तर्गत रहेका भातृ तथा शुभेच्छुक संघसंस्थाहरुमा उत्साह छाएको नेता, कार्यकर्ताहरुले बताएका छन् । समाजमा स्वच्छ छवि भएका, इमान्दार र लगनशील भई पार्टीम योगदान गरेका, कमाउने नियतले भन्दापनि जनताको सेवा गर्छु भन्ने विचार बोकेका योग्य र क्षमतावानलाई मात्र पार्टीले टिकट दिनुपर्नेमा सबैले जाडे दिएका छन् ।
अभियानको क्रममा नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई र बराह नगर सभापति रमेश कार्कीलाई कांग्रेसको बराह ४ नं. वडा समितिले सम्मान गरेको छ । उनीहरुलाई वडा सभापति नुतन धामीले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
अभियानमा १ नं. प्रदेशका महामन्त्री उमेश थापा, जिल्ला सभापति केदार भण्डारी, जिल्ला उपसभापति पंकज महतो, जिल्ला सचिवद्धय विरेन्द्र साह र माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई, बराह नगर सभापति रमेश कार्कीलगायत नेताहरुले विचार राखेका थिए । अभियानको सञ्चालन तथा सहजिकरण क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी तथा सहसचिव सुमित राईले गरेका थिए ।