धरान: सेउती खोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासी गरिरहेको अवस्थामा ४ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । 

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बुधबार ४ वटा ट्याक्टर धरान उपमहानगरपालिकालाई बुझाएको थियो । नदीजन्य पदार्थ चोरी निकासी गर्ने ती ट्याक्टरलाई १० हजार र २५ हजार जरिवाना गर्ने निर्णय गरिएको छ । राजश्व शाखा अधिकृत खगेन्द्रप्रसाद खतिवडाका अनुसार पहिलो पटक नियन्त्रणमा लिइएको ट्याक्टरले १० हजार र पटके चोरी निकासी गर्ने ट्याक्टरलाई २५ हजार जरिवाना लिएर छोडिएको छ । दुई वटाले १० १० हजार र बाँकी २ वटाले २५ २५ हजार जरिवाना तिरेको पनि खतिवडाले जानकारी दिए ।

नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक जरिवाना लिएर छोड्न कोशी ट्याक्टर संघले पनि उपमहानगरपालिकालाई सिफारिश गरेको थियो । अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने साधनलाई पहिलो पटक न्युनतम १० हजार जरिवाना गर्ने व्यवस्था छ । सोही अनुसार जरिवाना गरिएको राजश्व शाखाले जनाएको छ । 

धरानको प्रमुख राजश्व(आम्दानी)को स्रोत धरान क्षेत्रका खोलाको नदीजन्य पदार्थ पनि हो । उपमहानगरले बर्षेनी खोला ठेक्का लगाउने गरेको छ । तर, ठेक्का लाग्नु अघि नै विभिन्न व्यक्तिहरुले नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासी गर्ने गरेको छ । पछिल्लो समय उपमहागनरले तोकिएको शुल्क तिरेर आईईई गरेर तोकिएको ठाउँबाट ठेक्का नलागेसम्म नदीजन्य पदार्थ झिक्न पाउने व्यवस्था पनि गरेको छ । यसको लागि उपमहानगरले ५५० रुपैया शुल्क तोकेको छ । तर, बषौंदेखि अवैधरुपमा नदी उत्खनन् गरि चोरी गर्नेहरुले पुर्जी नकाटी नै नदीजन्य पदार्थहरु लैजाने गरेका छन् ।