इटहरी: इटहरी उपमहानगरपालिकाको नगर गौरवको योजना अन्तर्गत इटहरी ४ स्थित कचना बुढीगंगा स्कुलको छात्रावाससहितको सुविधा सम्पन्न भवन निर्माण शुरु भएको छ । 

इटहरीका मेयर द्धारिकलाल चौधरीले मंगलबार भवनको शिलान्यास गरेका हुन् । यो भवन कुल १५ करोड ४४ लाख ७७ हजारको लागतमा दुई बर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको छ । छात्रावाससहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मेयर चौधरीले आफनो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा फडको मारेको बताए । इटहरीबासीको सहयोगमा इटहरीको समृद्धि अघि बढेको मेयर चौधरीको भनाई थियो । 

उपमेयर लक्ष्मी गौतमले छात्रावाससहितको अत्याधुनिक सामुदायिक विद्यालय सुनसरीमै पहिलो हुने दावी गरिन् । उनले इटहरीको शैक्षिक क्षेत्रको फरक र महत्वपूर्ण गौरवको कार्यक्रम शुरु भएको पनि बताइन् । शिक्षासेवी लेखनाथ घिमिरेले यति ठूलो योजनाका लागि पहल गर्ने इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिप्रति आभार ब्यक्त गरे । 

वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईको अध्यक्षतमा भएको कार्यक्रमलाई उपमहानगर शिक्षा महाशाखाप्रमुख सूर्य सुवेदी,पूर्व प्रधानाध्यापक केशव सुवेदी,इटहरी खानेपानी सस्थाका अध्यक्ष रामप्रसाद चौलागाई,पूर्व प्रधानाध्यापक केशव सुवेदी,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दामोदर सापकोटा लगायतले सम्वोधन गरेका थिए । इटहरी उपमहानगरपालिकाको पहलमा राष्टिय योजना आयोग मार्फत संघीय सरकारको विशेष अनुदानमा भवन निर्माण शुरु भएको हो । भवन निर्माणमा इटहरी उपमहानगरको दश प्रतिशत लगानी हुनेछ ।