धरान: नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको धरान उपमहानगर कमिटि गठन भएको छ ।

एमाले धरानको पार्टी कार्यालयमा भएको भेलाले सतिस केसीको अध्यक्षतामा ४० सदस्यीय कमिटी चयन गरेको हो । अध्यक्ष केसी धरानका चर्चित क्लब गोधुली क्लबको उपाध्यक्ष पनि हुन् भने धरान उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिका सदस्य पनि छन् । कमिटिको उपाध्यक्षमा रञ्जीत शाह र गीता थापा मगर चयन भएका छन् भने सचिवमा हुकमेन राई चयन भएका छन् ।

महासंघको नगर भेलालाई प्रमुख अतिथि नेकपा एमालेकी केन्द्रीय सदस्य तथा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सम्बोधन गरेकी थिइन् । उनले खेलकुदको माध्यमबाट देशलाई चिनाउने खेलाडीहरुको हितको लागी एमालेले महासंघको गठनको अवधारणा अघि सारेको बताइन् । 

khelkud

नेतृ भण्डारीले खेलकुदको माध्यमबाट समाजलाई स्वस्थ्य बनाउने, राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने भएकोले खेलकुद अत्यन्तै महत्वपूर्ण रहेको बताइन् । पछिल्लो समय खेलाडीहरुलाई व्यवसायिक बनाउन, खेलको स्तर वृद्धि गर्न राज्यले पनि लगानी बढाएको उनको भनाई थिो । 

महासंघका संस्थापक केन्द्रीय उपाध्यक्ष तथा एमाले प्रदेश १ कमिटी सदस्य विजय राईले खेलकुदको क्षेत्रमा लागेकाहरुलाई एमालेले मन्त्रीदेखि खेलकुद परिषदको सदस्य सचिवसम्म बनाएको बताए । एमालेकै नीतिको कारण अहिले उत्कृष्ट खेलाडीहरुले राम्रै आम्दानी गर्ने गरेको र खेल प्रशिक्षकको रुपमा जागिरे समेत भएको भन्दै उनले आ–आफ्नो खेलमा अब्बल हुन खेलाडीहरुलाई हौसला दिए । कार्यक्रमलाई जिल्ला सदस्य तथा धरान इन्चार्ज नारायण सुवेदी, जिल्ला सदस्य तथा महासंघ इन्चार्ज नवराज राईलगायतले सम्बोधन गरेका थिए । भेलामा धरानका एक सय भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको थियो।