इटहरी: नेपाल प्रेस युनियन सुनसरीले सञ्चारकर्मी एवं उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान शिविर गरेको छ । 

बिहीबार इटहरीमा आयोजना गरिएको शिविरमा १४० जनाले सेवा पाएका छन् । प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा आँखा तथा कान शिविर आयोजना गरिएको हो । सञ्चारकर्मीहरुले प्रत्यक्षरूपमा आँखा र कानले धेरै महत्वपूर्ण काम गर्ने भएकाले शिविर आयोजना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । 

विश्व श्रवण दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो । परीक्षणमा समस्या भएकालाई निःशुल्क चस्मा तथा औषधी वितरण समेत गरिएको थियो । अग्रज पत्रकार हर्ष सुब्बाले पत्रकारहरूका लागि यस्ता किसिमका शिविर आयोजना गर्नु सह्रानीय भएको बताए । ‘पत्रकारहरूलाई नै लक्षित गरेर यस्ता किसिमका शिविर आयोजना गर्नु अतुलनीय काम हो,’सुब्बाले भने । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष गिरीराज आचार्य, कृष्णविनोद लम्साल, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का लगायतले उक्त कार्यक्रमको आयोजना गर्नु उदाहरणीय कार्य रहेको भन्दै प्रशंसा गरे । विराटनगर आँखा अस्पतालका कुमार प्रितुले विराटनगर आँखा अस्पतालमा विशेषगरी भारत, बङ्गलादेश, भुटान लगायतबाट आँखा तथा कान शिविर गर्न आउनेको संख्या उच्च रहेको बताए । ‘हामी कहाँ विभिन्न बाहिरी देशबाट जाँचका लागि आउनुहुन्छ, तर शिविरकै रूपमा भने पहिलोपटक सञ्चारकर्मीहरूको शिविर राखिएको हो,’उनले भने । 

सञ्चारकर्मीहरूले धेरैजसो समय कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता प्रविधिमा समय दिने भएकाले यसले दीर्घकालीन असर समेत पर्ने भएकाले वर्षमा एकपटक आँखा तथा कान जाँच गराउन आवश्यक रहेको पनि प्रितुले बताए । युनियनले यसअघि कोरोना महामारीमा जिल्लाका सञ्चारकर्मीहरूको कोरोना बीमा, दुर्घटना बीमा, फुड बैँक सञ्चालन जस्ता कार्यक्रमको आयोजना गरिएको सचिव विवेक भट्टराईले बताए ।