धरान: किरात राई चाम्लिङ खाम्बातिमको पाँचौ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन र ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
धरानमा फागुन २८ देखि ३० गतेसम्म भएको सम्मेलनले युवराज राईको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा नरबहादुर राई, जयराम राई र भगवती चाम्लिङ राई चयन भएका छन् भने महासचिवमा जितकुमार राई, सचिवमा सयन्द्र राई र भुपेन्द्र राई, कोषाध्यक्षमा राकेश राई, सहकोषाध्यक्षमा एलिना राई र सुनिता राई चयन भएका छन् ।
प्रदेश १ को नाम किरात राख्न माग
चाम्लिङ खाम्बातिमको राष्ट्रिय सम्मेलनले प्रदेश नं १ को नाम किरात राख्न पनि माग गरेको छ । सम्मेलनबाट पारित ६ बुँदे धरान घोषणा पत्रको पहिलो बुँदा नै प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गरिएको छ ।
यस्तै, नेपालको सबै मातृभाषा नेपाली भाषा भएकोले चाम्लिङ भाषालाई पनि नेपाली भाषा भनिनुपर्ने धरान घोषणा पत्रमा उल्लेख छ । यस्तै, चाम्लिङ भाषालाई प्रादेशिक कामकाजको भाषा घोषणा गर्नुपर्ने, हलेसी तुवाचुङ नगरपालिकामा जस्तै अन्य स्थानीय तहमा पनि कामकाजको भाषा घोषणा गर्न माग गरिएको छ ।
यसैगरि, चाम्लिङभाषी बसोबास गर्ने सबै विद्यालयमा चाम्लिङ भाषा पठनपाठन गरिनुपर्ने, दरबन्दी कायम गरि शिक्षक व्यवस्था गरिनुपर्ने पनि माग गरिएको छ । साथै, चाम्लिङ राईहरु सँस्कृति सम्बन्धी सम्मेलनहरु गर्ने, ऐतिहासिक स्थल संरक्षण र संवद्र्धन गर्ने पनि घोषणा पत्रमा उल्लेख छ भने वाबुको सहीरुपमा प्रयोग गर्न आग्रह गर्दै साँस्कृतिक प्रतिककोरुपमा प्रयोग गर्दा घरको धुरीमा राख्न तथा पहिरनहरुमा प्रयोग गर्दा छातीभन्दा माथि मात्र प्रयोग गर्न पनि सम्मेलनले आह्वान गरेको छ ।
यस्तै, चाम्लिङ राईहरुको मौखिक ज्ञान मुन्दुम संरक्षण गर्नको लागि मोपा, खातवा नछुङ (धामी)हरुलाई स्थानीय तहहरुले साँस्कृतिक अथवा संरक्षण भत्ताको व्यवस्था गर्न पनि माग गरिएको छ ।