धरान: परिवर्तनका लागि सामाजिक अभियानले १२ औं संस्करणको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक शनिबार सम्पन्न गरेको छ ।
धुलिखेल समाज, धरानको सहकार्यमा धरान १ मा आयोजित क्लिनिकमा ७१ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका थिए । परिवर्तनका लागि सामाजिक अभियानले हरेक महिनाको पहिलो र तेश्रो शनिवार आयोजना गर्ने यो निःशुल्क क्लिनिक धरान–१ स्थित धरान मोडल कलेजमा आयोजना गर्दै आएको थियो ।
पछिल्लो ३ संस्करणको क्लिनिक भने वडाहरुमा गरिएको हो । स्वास्थ्य क्लिनिकलाई वडास्तरमा पुर्याउने अभियान स्वरुप वडा नं १८, वडा नं २ मा क्लिनिक सञ्चालन भइसकेको थियो भने आज धरान–१ स्थित धुलिखेल समाजको सहकार्यमा आयोजना भएको हो ।
अभियानका अध्यक्ष विष्णु बरालले समुदायमा सामाजिक स्वास्थ्य क्लिनिक निक्कै नै प्रभावकारी र फलदायी बन्दै गएको बताए । अस्पतालमा लाईन लागेर उपचार गराउन नसक्ने ७० वर्ष भन्दा माथिका बुवाआमाहरुलाई यो कार्यक्रमले सहज भएको र राहत प्रदान गरेको पनि बरालले बताए ।
आफ्नो स्वास्थ्य जचाउन आएकी धरान–३ निवासी विमलादेवी श्रेष्ठले “यति सजिलै घर आँगनमा आफ्नो स्वास्थ्य जाँच गराउन पाउँदा निक्कै नै सजिलो भएको” भन्दै खुशी व्यक्त गरिन् । उनले आयोजकप्रति परिवर्तनका लागि सामाजिक अभियानप्रति पनि आभार व्यक्त गरिन् ।
वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहले क्लिनिकमा विशेष गरि मुटु, उक्त रक्तचाप र सुगरको परिक्षण गर्ने गरेका छन् । कार्यक्रमका संयोजक त्रिभुवन बरालका अनुसार क्लिनिकमा ब्लड प्रेसर जाँच्न र अन्य सहयोगका लागि प्रतिष्ठानकी स्टाफ नर्स निर्मला बास्तोलाले सहयोग गरेकी थिईन् ।
धुलिखेल समाजका अध्यक्ष युगलकुमार श्रेष्ठले प्रभावकारी कार्यक्रममा सहकार्य गर्न पाएकोमा सहयोगी, डा. प्रशान्त शाह र आयोजकलाई आभार व्यक्त गरेका थिए । परिवर्तनका लागि सामाजिक अभियानमा आबद्ध मोहन श्रेष्ठ, वर्षा अग्रवाल श्रेष्ठ, भोजराज श्रेष्ठ, त्रिभुवन बराल, जेनिश शाक्य, विजय श्रेष्ठ, निशान नेपाल, हेमचन्द्र ढकाल, राजेन्द्र रिजाल, ऋषिराम भट्टराई, सुष्मन श्रेष्ठ, आशिषराज यादव लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।