धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं. १३ ले अंक तालिकाको शीर्षस्थानमा रहदै सेमीफाइनल यात्रा पक्का गरेको छ । 

 दुवै खेल जितेपछि ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेर वडा १३ ले सेमिफाइनलको यात्रा पक्का गरेको हो । आज शनिबार धरान १६ स्थित रंगशालामा भएको खेलमा धरान वडा नं ८ लाई १–० गोल अन्तरले पराजित गर्दै १३ नं. वडाले सेमिफाइनलको यात्रा पक्का गरेको हो । खेलमा धरान–१३ का विवेक राईले दोस्रो हाफको ४ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १३ नं. सविन राई वडाका घोषित हुँदै नगद २५ सय पुरस्कार हात पारे । 

subas1

लिगकम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा गोधुली रनिङ कप फुटबलका उत्कृष्ट आठ टिम सहभागी छन् । ८ टिमलाई दुई समुहमा विभाजन गरी भइरहेको लिगमा समुह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । अब हुने अन्तिम खेलमा पराजित भए पनि ८ नं. वडा कम्तिमा उपविजेता हुनेछ । समुह बी मा रहेको १३ नं. ६ अंकका साथ शिर्ष स्थानमा छ भने ३ अंकका साथ ८ नं. दोस्रो स्थानमा छ । त्यस्तै १–१ अंकका साथ १६ र १९ नं. वडा तेस्रो र चौथो स्थानमा छन् ।

शनिबारको खेल सकिएसँगै दोस्रो चरणको लिग खेल पनि सकिएको छ । आइतबार समुह ए को अन्तिम लिग खेल हुँदैछ । धरान रंगशालामा हुने पहिलो खेलमा दिउसो २ बजे १४ नं. वडा र ११ नं. वडा भिड्नेछन् भने दोस्रो खेलमा दिउसो ४ बजे १५ र १८ भिड्नेछन् । समुह ए मा १५ नं. वडा ६ अंकका साथ समुहको शिर्ष स्थानमा छ । उसले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । ३ अंकका साथ १४ नं. वडा दोस्रो स्थानमा छ भने समान ३ अंक भएपनि गोल अन्तरका आधारमा ११ नं. वडा तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित १८ नं. वडा चौथो स्थानमा छ । चैत्र १२ गते हुने फाइनलको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।