धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको पदाधिकारी चयन सर्वसम्मतरुपमा गर्ने प्रयास असफल भएको छ ।

पार्टी कार्यालयमा पहिलो पुर्ण बैठक बसेर बिहान सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भएपनि सहमति जुट्न सकेन । सहमति नभएपछि अहिले धरान ८ स्थित सभागृहमा निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचनमार्फत पदाधिकारी चयन गर्न मनोनयन दर्ता भइसकेको छ भने मतदानको तयारी भइरहेको निर्वाचन प्रमुख केशव घिमिरेले जानकारी दिए ।

उनले भने,‘मनोनयन दर्ता सकियो, मतदानको लागि तयारी गदैछौं ।’ उनका अनुसार गएको नगर सम्मेलनबाट चयन भएका ८५ जना नगर सदस्यहरुमध्येबाट पदाधिकारी चयन हुनेछन् । हाल ७५ जना मात्र सदस्यहरु मात्र मतदाता रहेको पनि उनले जानकारी दिए ।

अध्यक्षमा ३ जनाको मनोनयन 

माओवादी केन्द्र धरानको अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी मनोनयन भएको छ । अध्यक्षको लागि सुर्यबहादुर भट्टराई (मनोज), उद्धव लिम्बु र सिपि बजगाईले मनोनयन दर्ता गराएका छन् । भटट्राई २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रकोतर्फबाट धरानमा वडाअध्यक्ष जित्ने एक मात्र जनप्रतिनिधि हुन् । उनको नेतृत्वमा वडा नं १७ मा माओवादी केन्द्रको प्यानलले जितेको थियो ।

mao'

तीन जना उपाध्यक्ष पदमा २ महिलासहित ६ जनाले मनोनयन दर्ता गराएका छन् । खुल्ला २ जना उपाध्यक्षमा सम्फर तामाङ, विष्णुकुमार राई, दिलकुमार श्रेष्ठ र सर्वजित राईले मनोनयन दर्ता गरेका छन् भने महिला उपाध्यक्षतर्फ गंगा पौडेल र मनिता राई जाइकाले मनोनयन दर्ता गराएका छन् । 

सचिवमा विदुर महत र चेतना श्रेङले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । सहसचिवमा हर्कराज चर्मकार र खेम रनपहेलीले मनोनयन दर्ता गरेका छन् भने कोषाध्यक्ष पदमा पनि लिलाबहादुुर प्रधानको मात्र उम्मेदवारी परेको छ ।