धरान: सत्तारुढ गठबन्धन दलहरुले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि धरानमा गठबन्धन गर्ने गृहकार्य थालेको छ ।
हिजो (आइतबार) धरान २ स्थित कांग्रेस पार्टी कार्यालयमा बसेको गठबन्धन दलहरुको संवाद समितिको बैठकले गृहकार्य गर्न ४ वटा पार्टी अध्यक्षहरुलाई जिम्मेवारी दिएको छ । बैठकमा कांग्रेसको संवाद समियिका १० जना, नेकपा माओवादी केन्द्रका ४ जना, जनता समाजवादी पार्टीका ७ जना र नेकपा एकीकृत समाजवादीका ९ जनाको सहभागिता रहेको थियो ।
उक्त बैठकले गठबन्धन गर्नको लागि ४ जना नगर अध्यक्षहरुलाई गृहकार्यको जिम्मेवारी दिएको कांग्रेसको सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङले जानकारी दिए । उनका अनुसार कांग्रेस सभापति श्याम पोखरेल, माओवादी केन्द्रका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), जसपा अध्यक्ष ताजुब लिम्बु र एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राईलाई गृहकार्यको जिम्मा दिइएको छ । उनीहरुले संयुक्तरुपमा गठबन्धन दलहरुको सांगठनिक अवस्था, यसअघिको निर्वाचनमा पाएको मतको अवस्थासँगै प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेको सांगठनिक र गएको निर्वाचनमा पाएको मतको विश्लेषणसहित प्रतिवेदन तयारी गर्ने तामाङले बताए ।

धरानमा २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयरसहित बहुमत १४ वडामा एमालेले जितेको थियो भने ५ वटा वडामा कांग्रेस र एउटा वडामा नेकपा माओवादीले जितेको थियो । एमालेबाट मेयर भएका तारा सुब्बाको एक बर्षपछि नै निधन भएपछि भएको उपनिर्वाचनमा भने नेपाली कांग्रेसबाट तिलक राईले एतिहासिक जित हासिल गरेका थिए । कम्युनिष्ट गढ भनिदै आएको धरानमा यसपाली पनि एमालेलाई हराउने लक्ष्यसहित सत्तारुढ दलहरुबीच देशव्यापीसँगै यहाँ पनि गठबन्धन हुने लगभग निश्चित छ ।
जसपा अध्यक्ष ताजुब लिम्बु ४ जना पार्टी अध्यक्षहरुले आआफ्नो पार्टीको अवस्थासँगै एमालेको पोजिशनबारे पनि रिपोटिङ गर्ने र चुनावमा गठबन्धन कसरी गर्ने भन्नेसम्मको छलफल गर्ने बताए । उनले भने,‘मेयर उपमेयर कसले लिने, कुन कुन वडामा अध्यक्ष कसले लिने भनेर छलफल गछौ ।’







