धरान: मदिरा पिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यक्रममा बिथोल्न पुगेपछि पक्राउ परेका धरान ३ का वडाअध्यक्ष आशाकुमार श्रेष्ठलाई प्रहरीले गए राती नै छाडेको छ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार प्रहरीले बोलाउदा कार्यालय आउने सर्तमा उनलाई राती १० बजेतिर छाडिएको हो । वडाअध्यक्ष श्रेष्ठको परीक्षणबाट उनले मापसे अर्थात मादक पदार्थ सेवन गरेको पनि पुष्टि भएको डिएसपी श्रेष्ठले जानकारी दिए । उनले भने,‘उहाँलाई बोलाउदा प्रहरी कार्यालय आउने सर्तमा छोडिएको छ । मदिरा पिएको आफैले स्वीकार पनि गर्नुभयो, रिपोर्ट पनि पोजेटिभ नै छ ।’
हालसम्म राप्रपाले वडाअध्यक्ष श्रेष्ठविरुद्ध कुनै पनि उजुरी गरेको छैन । उजुरी आएमा दुवै पक्षलाई राखेर छलफल गर्ने र मात्र थप के गर्ने भन्ने निर्णय हुने पनि डिएसपी श्रेष्ठले बताए । ‘एक पक्षलाई हेरेर मात्र भन्न सकिन्न, अर्को पक्षले आएर उजुरी दियो भने छलफल हुन्छ,’उनले भने ।
हिजो शुक्रबार दिउँसो वडा नं ३ मा राप्रपाको र्निवाचन लक्षित कार्यक्रम भयो । वडाको उम्मेद्वार घोषणा गर्ने र समिति गठन गर्ने कार्यक्रम भइरहदा मदिरा पिएर पुगेका वडाअध्यक्षले तथानाम गालीगलौज गर्दै कार्यक्रम बिथोल्न प्रयास गरेका थिए । वडाअध्यक्ष र केही राप्रपा नेता, कार्यकर्ताहरुबीच धकेलाधकेलसमेत भएको थियो । नेताहरुले खबर गरेपछि प्रहरीले वडाअध्यक्षलाई पक्राउ गरेर लगेको थियो । वडा ३ का अध्यक्ष नेकपा एमालेबाट २०७४ सालमा निवार्चित भएका हुन् ।
राप्रपा नेता जुद्ध लोहनीले जनप्रतिनिधिले रक्सी पिएर कुनै अर्को राजनीतिक दलको कार्यक्रम विथोल्न खोजेको घटना ज्यादै लज्जास्पद भएको प्रतिक्रिया दिएका थिए । उनले वडाअध्यक्षले माफी मागे पनि नमागे पनि उजुरी नगर्ने तर सबै राजनीतिक दलहरुले कार्यक्रम गर्न पाउनुपर्ने बताएका छन् ।