धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धनको लागि केन्द्रदेखि स्थानीयस्तरसम्म कसरत भइरहेको छ । धरानमा पनि गठबन्धन दलहरु लगातार छलफलमा बसेपनि सहमति जुट्न सकेको छैन ।
अझ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धरानमा चुनावी गठबन्धनमा नहुने भन्दै पोष्ट गरे । उनको यो पोष्टले गठबन्धन दलहरु आ आफ्नौ अडानमा रहेको र चुनावी गठबन्धनको सम्भावना क्षिण हुदै गएको हो कि भन्ने संकेत दिएको छ । सभापति तामाङका अनुसार धरानमा नेकपा माओवादीले मेयर र ८ वटा वडामा दाबी गरेको छ । माओवादीले वडा ३, ४, ५, ११, १५ र १६ मा दाबी गरेको हो ।
यस्तै, नेकपा एकीकृत समाजवादीले पनि वडा ४, ५, ६, ११, १५ र १५ मा दाबी गरेको छ भने जनता समाजवादी पार्टीले उपमेयरमा र वडा ११, १५, १६ मा पनि दाबी गरेको छ । राष्ट्रिय जनमोर्चाले पनि वडा ४ र ५ मा दाबी गरेको छ । सभापति तामाङका अनुसार गठबन्धनको नगरस्तरीय संयन्त्रमा सहमति हुन नसकेपछि जिल्ला संयन्त्रमा पठाइएको थियो । नगरमा सहमति नजिक पुगेको भागवण्डाको बिषयलाई माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले जिल्ला संयन्त्रमा भने फरक तरिकाले दाबी प्रस्तुत गरेपछि सहमतिको वातावरण बन्न नसकेको उनको भनाई छ ।
जिल्ला संयन्त्रमा दाबी प्रस्तुत गरेका दलहरुको कुरालाई जस्ताको तस्तै उल्लेख गरेर प्रदेश संयन्त्रमा पठाइएको पनि उनले बताए । ‘उहाँहरुको सुनसरीको १२ वटै पालिकामा अस्वभाविक दाबी छ, यस्तो दाबी हुने हो भने कही पनि गठबन्धन हुने अवस्था देखिदैन,’तामाङले भने,‘हाम्रो पार्टीको प्रत्येक वडामा गठबन्धन गर्न हुदैन भन्ने दबाब आइरहेको छ, हस्ताक्षर अभियान गरेर बुझाइ रहेका छन् । हामीलाई दबाब हुँदा हुँर्दै पनि गठबन्धनको भावनालाई आत्मसात गरेर अघि बढ्दा उहाँहरु अव्यवहारिक, अस्वभाविक माग राख्दा समस्या भयो ।’
कांग्रेसले २०७४ को मतभार, सांगठिक क्षमता हेरेर सम्मानजनक सिट दिन चाहेको क्षेत्रीय सभापति तामाङको दाबी छ । प्रदेशबाट चित्तबुझ्दो छिनोफानो भयो भने गठबन्धन हुने नत्र कांग्रेसको संगठनमा आँच आउने गरि भएमा परिणाम राम्रो नहुने आम कांग्रेस कार्यकर्ताहरुको आवाज रहेको पनि उनले बताए ।
सोमबार पनि धरानमा गठबन्धनको बैठक हुने
कांग्रेस धरान सभापति श्याम पोखरेलले गठबन्धन दलहरुबीच सोमबार बिहान पुनः धरानमा छलफल हुने बताए । उनका अनुसार नगरस्तरीय गठबन्धन बैठकमा माओवादी केन्द्रले उपमेयर र ५ वटा वडामा दाबी रहेको थियो । यस्तै, जसपा र एकीकृत समाजवादीले उपमेयर दिने हो भने वडा नचाहिने भन्दै माग राखेको थियो । उनले भने,‘औपचारिक, अनौपचारिक कुरा भइरहेको छ । सोमबार बिहान फेरि एक चरण बसेर टुंगो लगाउछौ ।’
नमिले मित्रवत प्रतिस्पर्ध गरौं: जपसा अध्यक्ष
जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुब लिम्बुले नगरमा गठबन्धनको चुनावी भागवण्डा मिल्न नसकेकोले जिल्ला संयन्त्रमा सिफारिश गरिएको र जिल्लामा पनि मिलाउन नसकेको बताए । नगरस्तरीय गठबन्धनमा भन्दा जिल्ला संयन्त्रमा आआफ्ना दलहरुले पार्टीको रिपोर्टिङको आधारमा फरक माग दाबी गरेको उनको भनाई छ । ‘नगरमा २ वटा वडाले नमिलेको हो, कांग्रेसले छोड्यो भने मिल्छ,’उनले भने, ‘सोमबार फेरि धरानमा बैठक बस्दैछौ । मिल्देन भने मित्रवतरुपमा प्रतिस्पर्धा गरौं भन्ने नै छ ।’