विराटनगर: झापाको दमक र सुनसरीको इटहरीमा विष्फोटक पदार्थ राखेर आतंकित बनाउने समुहलाई पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने दुई प्रहरी प्रदेश नं १ को सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश प्रहरी कार्यालयको आरआइटी समुहमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी हवल्दार गुणराज अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । उनीहरुले दमक तथा ईटहरीमा बिष्फोटनजन्य पदार्थ राखेर आमनागरिकहरुलाई आतंकित बनाउने समुहलाई पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोले सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरीले जनाएको छ । दुवैले व्यवसायिक, लगनशील भएर  कर्तब्य निर्वाह गरि अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

गत बर्ष माघ ९ गते विर्तामोड बस स्टेण्डमा, १३ गते दमकस्थित शिवान चर्चमा “हिमाल सुरक्षा परिषद” को पर्चाहरुसहित सर्वसाधारणलाई त्रसित बनाउन बिष्फोटक पदार्थ प्रेशर कुकर बम राखेको फेला परेको थियो । यस्तै, चैत १४ गते इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित अमित श्रेष्ठको घरमा विष्फोट भएको थियो । उक्त घटनाको मुख्य योजनाकार तथा संलग्न व्यक्तिहरुको पहिचान गरी प्रहरीले परिषदको केन्द्रीय अध्यक्षसहित व्यक्तिहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गर्न प्रसनि खड्का र हवल्दार अधिकारीले महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयले १ नम्बर प्रदेश भरिका मध्ये प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेर उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरि १ नम्बर प्रदेश प्रहरी कार्यालय र प्रदेश अन्तर्गतको इलाका प्रहरी कार्यालय 'क' स्तरसम्मका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने गरिएको छ ।