धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचन केन्द्रीत भएर जनता समाजवादी पार्टीले धरानमा निर्वाचन परिचालन मुल समिति घोषणा गरेको छ ।
सत्तारुढ गठबन्धनमा समावेश पार्टी जसपाले सोमबार धरान १५ स्थित चुम्लुङ हिममा केन्द्रिय कार्यकारिणी सदस्य युवराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम गर्दै स्थानीय निर्वाचन परिचालन समिति घोषणा गरेको हो । पार्टीका केन्द्रीय सदस्य भीम राईको संयोजकत्वमा ११ सय २१ जनाको निर्वाचन परिचालन समिति घोषणा गरिएको जसपाका धरान अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए । परिचालन समितिको सदस्य सचिव सचिवालय बैठक बसेर मंगलबार तोकिने पनि उनले बताए ।
चुनावी गठबन्धन भएपनि वा गठबन्धन नभएर एक्लै चुनाव लड्नु पर्ने अवस्था आएपनि पार्टी तयार अवस्थामा रहेको अध्यक्ष लिम्बुले बताए । उनले भने, ‘गठबन्धन भयो भने पनि निर्वाचन परिचालन समिति चाहिन्छ । भएन भने पनि एक्लै चुनाव लड्ने गरि तयारीमा छौ । अब वडा वडामा पनि निर्वाचन परिचालन समिति गठन गर्दै अघि बढ्छौं। गठबन्धनमा सकरात्मक छलफलमा छौ ।’
धरानको ७ वटा वडामा सर्वसम्मत अध्यक्षका उम्मेद्वार सिफारिश
जसपाले धरानको विभिन्न ७ वटा वडाबाट वडाअध्यक्ष पदको उम्मेदवार सर्वसम्मत फिफारिश गरेको छ । पार्टीका नगर अध्यक्ष लिम्बुका अनुसार वडा नं ६ मा नरबहादुर लिम्बु, वडा ५ मा रितेश लिम्बु, वडा १५ मा हरि राई, वडा ८ मा भगिराज चेम्जोङ वडाअध्यक्षको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिश भएका छन् ।
यसैगरि, वडा नं १९ मा सुमन चेम्जोङ, वडा ९ मा नविन श्रेष्ठ र वडा १२ मा लेखमान लिम्बु सर्वसम्मत अध्यक्षको उम्मेदवार सिफारिश भएका छन् । अहिले गठबन्धन दलहरुबीच छलफल भइरहेको कारण अन्य वडाहरुमा भने सिफारिश गर्न रोकेको पनि उनले बताए । ‘गठबन्धनमा छलफल भइरहेकोले बाँकी वडाहरुमा सिफारिश गर्न रोकेका छौ । गठबन्धन हुँदा कुन वडा पर्छ, गठबन्धनको मर्म अनुसार अहिले सिफारिश भएको वडा पनि छोड्नुपर्ने पनि हुन्छ,’ उनले भने ।