धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धरानमा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।

राप्रपा धरान उपमहानगर अध्यक्ष नविन पराजुलीको अध्यक्षतमा आज मंगलबार बसेको बैठकले मेयरमा नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मेयर पदमा अध्यक्ष पराजुलीसहित सुनसरी क्षेत्र नं १ (क)का अध्यक्ष जुद्ध लोहनी, २०७६ को उपनिर्वाचनका उम्मेदवार रोशन विश्वकर्मा दर्नाल, दोर्जे शेर्पा पनि आकांक्षी थिए । तर, बैठकले सर्वसम्मत रुपमा शाक्यलाई मेयर बनाउने निर्णय गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

raprapa1

यस्तै, उपमेयरमा भने पुर्णिमाया राई पनि सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको पराजुलीले जानकारी दिए । उनका अनुसार उपमेयरको लागि अन्य आकांक्षीहरु थिएनन् । मेयरका उम्मेद्वार शाक्य धरान १२ निवासी हुन् । उनी विभिन्न सामाजिक संघसंस्थाहरुमा सक्रिय छन् । झिगु समाजको अध्यक्ष भइसकेका उनकै नेतृत्वमा खत्रीधारामा दाहसँस्कारस्थल निर्माण भएको थियो । उपमेयरकी उम्मेद्वार धरान १८ निवासी हुन् । उनी जनसरोकार मञ्च नेपालमा आवद्ध रहेर भ्रष्टचार विरोधी अभियानमा सक्रियतापुर्वक लागेकी थिइन्। 

राप्रपाले धरानको वडा नं ४, ५, ६, ८, १३, १९, ३, १५ लगायत वडाहरुमा पनि उम्मेद्वार चयन गरिसकेको नगर अध्यक्ष पराजुलीले जानकारी दिए । आजको दिनसम्म केन्द्रबाट अन्य पार्टीसँग तालमेल गर्ने कुनै सर्कुलर नआएकोले राप्रपा एक्लै चुनाव लड्ने उनको भनाई छ ।