धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज र भोली देशभर उम्मेद्वारी मनोनयन दर्ता हुदैछ । 

धरानमा पनि पब्लिक हाईस्कुलको प्राविधिक भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने कार्यक्रम छ । सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । 

निर्वाचन अधिकृत कार्यालयमा यसअघि शुक्रबार भएको सर्वपक्षीय बैठकमा पहिलो दिन (आज) साना दल तथा स्वतन्त्र उम्मेदवारहरुको मनोनयन दर्ता गराउने सहमति भएको पनि उनले बताए । यस्तै, नेकपा एमालेलाई भोली सोमबार २ बजेभित्र र त्यसपछि गठबन्धन दलले उम्मेदवारी मनोनयन दर्ता गर्ने सहमति भएको थियो । ‘दलहरु एकैपटक आउदा भिडभाड भएर समस्या नहोस् भनेर सर्वपक्षीय बैठक बसेर नै यस्तो भएको हो,’खतिवडाले भने, ‘साना दल र स्वतन्त्र कोही उम्मेदवार आज नभ्याएर भोली आउदा पनि दर्ता चाहि गछौ ।’

धरानमा गठबन्धन दलहरुले वडामा आआफ्नै उम्मेदवार बनाउने भएका छन् । गठबन्धन भए पनि नभए पनि दलहरुबीच यसअघि भएको सहमति अनुसार नै हुने धरानका निर्वाचन अधिकृत पुष्कर राज नेपालले जानकारी दिए । उनले भने, ‘सर्वपक्षीय निर्णय गरेको हो । त्यही अनुसार नै हुन्छ । फेरवदल गर्न फेरि बैठक बस्ने समय छैन । तर सहजताको लागि कसैले आजै आउछौ भन्छ भने दर्ता गछौ ।’