धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका २ जना मेयरसहित दुई दर्जनले उम्मेद्वारी फिर्ता लिएका छन् ।

धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ जना मेयर, १ जना उपमेयर, ९ जना वडाअध्यक्ष र १२ जना वडा सदस्यहरुले उम्मेद्वारी फिर्ता लिएका छन् । निर्वाधन अधिकृत पुष्करराज नेपालका अनुसार मेयरको उम्मेद्वारी फिर्ता लिनेमा सचेत नेपाली पार्टीकी उम्मेद्वार सुस्मिता कार्की र नेकपा एकीकृत समाजवादीका उम्मेद्वार रेवतीरमण राई छन् । यस्तै, उपमेयरमा उम्मेद्वारी दिएकी एकीकृत समाजवादीकी अमृता सुनारले पनि उम्मेद्वारी फिर्ता लिएकी छिन् ।

मेयरको उम्मेद्वारी फिर्ता लिएका नेकपा एस धरानका अध्यक्षसमेत रहेको राईले बिहिबार गठबन्धनको बैठक बसेको र केन्द्रबाट नै निर्देशन वमोजिम उम्मेद्वारी फिर्ता लिएको बताए । उनले धरानमा गठबन्धन कायमै रहेको भन्दै वडाहरुमा नेकपा एसले विभिन्न सिट पाएको भन्दै सन्तुष्टी व्यक्त गरे ।

को को फिर्ता भए वडाअध्यक्षको उम्मेद्वार ? 

निर्वाचन कार्यालयका अनुसार वडाअध्यक्षका ९ जना उम्मेद्वार फिर्ता भएका छन् । उम्मेद्वारी फिर्ता लिनेहरुमा वडा नं २ बाट नेकपा माओवादी केन्द्रकी पिंकी अग्रवाल, वडा नं ४ मा नेपाली कांग्रेसबाट गणेश बजगाई, वडा नं ६ मा माओवादी केन्द्रका लोकबहादुर खड्का, वडा नं ९ मा माओवादी केन्द्रका रविन श्रेष्ठ, वडा नं १२ मा माओवादी केन्द्रका गंगा वराल पौडेलले उम्मेद्वारी फिर्ता लिएका छन्।

यस्तै, वडा नं १४ मा माओवादी केन्द्रबाट दलबहादुर कठियत, वडा नं १५ मा स्वतन्त्र उम्मेद्वार शान्तिराम राई, वडा १५ मा स्वतन्त्र उम्मेद्वार गणेश प्रधान, वडा नं १६ मा माओवादी केन्द्रबाट प्रेमबहादुर तामाङले पनि फिर्ता लिएका छन् ।

election1 1