धरान: आफ्नै पार्टी नेकपा एमालेको निर्णय विपरीत मेयरका उम्मेद्वारविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका रत्न कटवालले चुनाव चिह्न पानीको धारा पाएका छन् ।

बैशाख ३० गतेको निर्वाचनको लागि उनले वडा नं ९ को वडाअध्यक्ष पदबाट राजिनामा दिएर मेयर पदमा उम्मेद्वारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट उनले पनि शनिबार चुनाव चिह्न पानीको धारा पाएका छन् । उनले उम्मेद्वारी दर्ता गर्नुअघि नै मञ्जु भण्डारीले उम्मेद्वारी दिएको पदमा उम्मेद्वार बन्ने घोषणा गरेका थिए । एमालेबाट मेयरमा भण्डारीले उम्मेद्वारी दिए पछि वडाअध्यक्ष पद त्यागेर कटवालले पनि सोही पदमा उम्मेद्वारी दर्ता गराएका थिए ।

मेयरका प्रत्यासी कटवालले पार्टी निर्णय चित्त नबुझेकोले आफ्नो उम्मेद्वारी कायमै रहेको र चुनाव चिह्न पाएको कारण आइतबारदेखि भोट माग्दै घरदैलो अभियान शुरु गर्ने बताउँछन् । उनले मेयर बाहेक उपमेयर र वडाका ५ जना उम्मेद्वारहरुलाई भने सुर्यमा नै भोट माग्ने पनि बताए । ‘मेयरमा मेरै लागि भोट माग्ने हो, उपमेयर र ५ जना वडाअध्यक्षको लागि चै सुर्यमा नै भोट हाल्छु, र मागिपनि दिन्छुँ,’कटवालले भने,‘चुनाव चिह्न पाएँ, अब भोली (आइतबार)देखि घरदैलो गर्दै भोट माग्छुँ ।’

मेयरमा उम्मेद्वारी दर्ता गरेका कटवालले एमाले नेताहरुसँग सहमति गरिसकेकोले भोट नमाग्ने चर्चा चलेको बिषयमा उनले पार्टीका नेताहरुबाट उम्मेद्वारी फिर्ता लिन अनुरोध, दबाब भएपनि आफुले अस्वीकार गरेको बताए । उनले आफ्नो असन्तुष्टी मेयरका उम्मेद्वार चयनप्रति मात्र भएको नेताहरुलाई बताएको पनि जानकारी दिए । ‘धेरै चरणमा कुरा भयो । माथिल्लो कमिटीबाट अनुरोध, दबाब आयो, तर मैले मानिन । अरु जे कुरामा पनि तयार छुँ, तर उम्मेद्वारी फिर्ता लिने कुरा स्वीकार हुदैन । गर्धन छिन्छ, उम्मेद्वारी फर्कन सक्दैन भने,’कटवालले भने,‘मेरो मत भेटेसम्म साथीभाईलाई माग्छुँ । अहिलेको हल्लाबारे भोली मत खसेको देखेर पनि थाह भइहाल्छ ।’