धरानः नेपाली कांग्रेस परित्याग गरि राप्रपाबाट वडाअध्यक्षको उम्मेद्वार बनेका २ जनाको पार्टी सदस्यता खारेज गरेको कांग्रेसले जनाएको छ । 

धरान वडा नं १ का वडाअध्यक्षका उम्मेद्वार रोशन अधिकारी र वडा नं १४ का वडाअध्यक्षका उम्मेद्वार कृष्ण भट्टराईको साधारण सदस्यता खारेज गरेको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव विरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भरेर साधारण सदस्यता खारेज गरेको जानकारी दिएका छन् ।

कारबाहीमा पर्ने वडा १ का अधिकारी र वडा १४ का भट्टराई २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निवार्चित भएका थिए । वडाअध्यक्षमा दोहोरिन चाहेका दुवै जनाले पदबाट राजिनामा दिएका थिए । तर, कांग्रेसबाट टिकट नपाउने भएपछि उनीहरुले राप्रपाबाट वडाअध्यक्षमा उम्मेद्वारी दिएका छन् । 

दुवैले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको, पार्टीको  विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएकोले विधान बमोजिम अनुशासनको कारवाही भएको जिल्ला सचिव साहले बताए ।