धरान: नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच बर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ । 

बैशाख २४ गतेको चुनावी सभाबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा एमालेले आगामी पाँच बर्ष गर्ने कामको विवरण पनि सार्वजनिक गरेको हो । निर्वाचन परिचालन मुल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले निर्वाचनमा जित हासिल गरेपछि धरानको समृद्धिको लागि मेघा प्रोजेक्टहरु अघि बढाउने जानकारी दिए । ‘धरानको आर्थिक समृद्धिको र आर्थिक आधार निर्माण गर्न सक्दछन् भन्ने एउटा निष्कर्षका साथ हामीले सामान्य भाषामा भन्दा खेरी गेम चेन्जिङ प्रोजेक्ट हुन सक्छ भनेर केही प्रोजेक्टहरु अघि सारेका छौ । यिनलाई केन्द्र भागमा राखेर निर्वाचनमा होमिएका छौं,’उनले भने ।

एमालले प्रदेश नंबर १ मै धरानलाई खेलकुदको हब बनाउने योजना अघि सारेको र त्यसका लागि पूर्वाधार विकासका योजना अघि सार्ने बताएको छ । निर्माणधिन बस पार्कलाई निर्माण सम्पन्न गर्ने पनि एमालेले पहिलो प्रथामिकतामा राखेको छ । किरातकालिन विजयपुर दरबार पुर्ननिर्माण गर्ने, सप्तरंगी पार्कलाई प्रदेश नं १ कै गन्तव्य हुन सक्ने गरीको डिजाईनमा विकास गर्ने, शिवजंट्टाको सौन्र्दयीकरण गरि बिकास र विस्तार गर्ने पनि योजना रहेको नेता सुवेदीले जानकारी दिए । यस्तै, बिष्णुपादुकास्थित कोका खोलामा ड्याम निर्माण गरेर  त्यहाँ बोटिङलगायतको प्रोजेक्ट सम्पन्न गर्ने एमालेले योजना रहेको जनाएको छ । 

यसैगरि, धरान ६ मा शुरु गरिएको औद्योगिक ग्रामलाई पूरा गर्ने, धरानलाई व्यवस्थित आधुनिक सहरको नमुना बनाउन आधारभूत कुराको व्यवस्थापन गर्ने पनि एमालेलेल जनाएको छ । यस्तै, ४ नम्बर वडामा मनमोहन पार्क सुरु गरेको र त्यसलाई पुरा गरि ग्रामिण पर्यटनलाई सुदृढ गर्ने पनि एमालेको भनाई छ । धरान २० स्थित तारे भीरमा रक क्लाईम्बिङको डिपीआर तयार गरिसकेको र संचालन गर्ने योजना रहेको छ भने धरानमा केबलकार सञ्चालन गर्ने पनि एमालेको योजना छ । 

निर्माणाधीन आदीबासी जनजाति संग्राहलयलाई पुरा गर्ने, ठूला प्रोजेक्टहरुलाई पीपीपी मोडलमा विभिन्न क्षेत्रको लगानीमा काम गर्ने योजना बनाएको एमाले नेता सुवेदीले बताए । ‘नगरपालिकाको आफनो लगानीले मात्र सम्भव छैन । हामी पब्लिक प्राइभेट पार्टनरसिपको माध्यमबाट यी कामहरु पुरा भईसके पछि धरानको दिर्घकालिन आर्थिक आधार बन्छ । यसमा फोकस भएर हामी जान्छौ,’उनले भने । ड्रिम प्रोजेक्टहरुलाई केन्द्रबिन्दुमा राखेर पूर्वाधारहरुलगायतको काम गरेर जाने योजना रहेको उनले बताए । 

प्रस्तावित ठूला परियोजना:

    धरान खेलग्राम

निर्माणाधिन स्मार्ट वसपार्क

सप्तरंगी पार्क धरान–१७

शिवजट्टाको सौन्दर्यकरण र पर्यटकीय पूर्वाधार विकास

किरातकालीन विजयपुर दरवार पुनर्निर्माण

औद्योगीक ग्राम धरान–६

स्लटर हाउस 

विष्णुपादुका मन्दिर  क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास

कोकाहा ड्याम धरान–२०

मनमोहन पार्क हर्दिया धरान–४

तारेभिर रक क्लाईम्विंग धरान–२०

केवलकार 

आदिवासी जनजाति बहुजातिय संग्राहलय