धरान: लोकतान्त्रिक बाम गठबन्धनबाट धरानका उमेद्वारहरुले निर्वाचित भएपछि जनताले अनुभति गर्ने गरि काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।
गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेद्वार किशोर राई र उपमेरका उम्मेद्वार माओवादी केन्द्रका आइन्द्र बिक्रम बेघाले बिहिबार धरान ११ मा आयोजित घरदैलो कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले धरानमा रहेको खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
खानेपानीमा धरानको समग्र विकास जोडिएकोले पहिलो प्राथमिकता खानेपानीलाई दिने उनीहरुको भनाई थियो । मेयरका उम्मेद्वार राईले भने,‘धरानको हरेक विकासमा खानेपानी जोडिएको हुन्छ, खानेपानी विना धरानको विकास हुनै सक्दैन । त्यसैले हामी नेतृत्वमा पुगेको खण्डमा धरानको बजेट खानेपानीमा केन्द्रीत गरेर समस्या समाधान गछौं ।’

उपमेयरका उम्मेद्वार बेघाले गठबन्धन नेतृत्वमा पुग्दा कसैको एक्लौटी वर्चश्व नहुने भएकोले छलफल र बहस पछि मात्र विकास निर्माणको कार्यहरु अगाडि बढ्ने बताए । यसले राजनैतिकरुपमा सहकार्यको वातावरण बन्ने र समग्र धरानको विकासमा एकता झल्कने पनि बताए । उनले भने, ‘हाम्रो एजेण्डा नै पहिलो खानेपानी समस्या समाधानको हो, हामी जितेर गएपछि पहिलो निर्णय नै खानेपानी समस्या समाधान हुनेछ ।’








