धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट धरानको मेयरका उम्मेद्वार मञ्जु भण्डारीले वडा नं २० लाई पर्यटकीय ग्राम बनाउन पुर्वाधार विकास गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
वडा नं २० मा बिहिबार चुनावी घरदैलोको क्रममा मतदाताहरुसँग उम्मेद्वार भण्डारीले यस्तो प्रतिवद्धता जनाएकी हुन् । उनले कोका खोलामा पक्की पुल, सडक पिच, कृषिमा आधुनिकरण, कृषकलाई मल विउविजनको व्यवस्था तथा धरान –२० लाई पर्यटकीय ग्राम बनाउन पूर्वाधार विकास गर्ने प्रतिवद्धता जनाइन् । यस्तै, उपमेयरका उम्मेद्वार पदम लिम्बुले पनि वडा २० को पूर्वाधार विकासदेखि कृषकका समस्या समाधान गर्नेसम्मको काम गर्ने बताए ।

एमालेबाट वडा २० का अध्यक्षका उम्मद्वार महाशेर राईले वडामा खानेपानी र कालेपात्रे सडकको अभाव रहेको उल्लेख गर्दै संघ, प्रदेश र नगरपालिकासँग समन्वय गरेर पहिलो प्राथमिकतामा राख्ने बताए । उनले सडक सुधार, कृषि आधुनिकरण, अदुवा बेसारको बजारीकरणको व्यवस्थापन पहिलो प्राथमिकता हुने पनि बताए । उनले आफू निर्वाचित भएर एमालेको नेतृत्वको टिमले भञ्ज्याङ चौकसम्म कालोपत्रे सडक निमार्ण गर्ने प्रतिब्द्धता पनि जनाए ।
वडा नं २० का अध्यक्ष मणिराम राईले धार्मिक र कृषि पर्यटनको प्रचुर सम्भावना भएको भन्दै उनले पूर्वाधार विकास गर्न एमालेको नेतृत्वको सरकारबाट मात्र सम्भव भएको बताए । वडा नं २०, विष्णुपादुमा ५ हजार भन्दा बढि जनसंख्या रहेको छ । मतदाता संख्या ३ हजार ६४५ रहेको छ ।







