धरान: लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारले धरानमा नाटक घर निर्माण तथा चलचित्र विकासको लागि १५ बुँदे प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेका छन् ।
धरान नाटक घर निर्माण उपभोक्ता समिति तथा चलचित्र महासंघ, प्रदेश १ को संयुक्त आयोजनामा आज आइतबार गठबन्धनले प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेको हो । प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्दै मेयरका प्रत्यासी किशोर राईले धरानको कला, साहित्य र संस्कृतिको विकासको लागि निर्माणाधिन नाटक घर सांस्कृतिक संरचना भएको बताउँदै प्रतिज्ञा पत्रमा उल्लेख बुँदाहरु अक्षरस पालन लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय सरकारले पहल गर्दा प्रत्येक वडामा नाटक घर बनाउन सकिने पनि बताए ।
यसैगरि, उपमेयरका प्रत्यासी आइन्द्र विक्रम बेघाले प्रतिज्ञा पत्रमा उल्लेखित सबै बुँदाहरू मननीय भएको बताउँदै कला, साहित्य र संस्कृतिको विकासमा राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर काम गर्ने बताए । साथै उनले योगदान र अग्रजताको आधारबाट सम्मान गर्ने पनि प्रतिवद्धता जनाए । उक्त कार्यक्रमको अध्यक्षता नाटक घर निर्माण समितिका अध्यक्ष प्रेम सुब्बाले गरेका थिए । उपाध्यक्ष गोपाल देवानले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव अरुण प्रधानले सञ्चालन गरेका थिए ।