धरान: जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज भिम राईले एमाले नेता एवं सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य रहेका सांसद जयकुमार राईलाई केपी ओलीको प्रतिगमन सच्चिएको कि प्रतिगमनको मतियार बन्नु भएको ? भनेर प्रश्न गरेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनले मंगलबार धरानको भानुचोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै जसपा नेता राईले एमालेका सांसद जयकुमार राईलाई यस्तो प्रश्न गरेका हुन् । उनले तत्कालिन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पहिलो पटक संसद विघटन गर्दा प्रतिगमन भयो भनेर हाल भानुचोकमा टायर बालिएको भन्दै सांसद राईलाई पनि आफुले सोधेको बताए ।
'मलाई समझना छ । केपी ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरे, धरानका साथीहरु भानुचोकमा मुर्ति अघि उभिएर केपी ओलीले प्रतिगमन गर्यो भनेर टायर बालियो, त्यसको नेतृत्व नारायण सुवेदीले गर्नुभयो,'जसपा नेता राईले भने,'माननीय जयकुमार राई काठमाण्डौंमा हुनुहुन्थ्यो, मैले सोधे माननीय ज्यु के भएको हो । ? उहाँले भन्दै हुनुहुन्थ्यो, केपी ओलीले खत्तम बनायो, बर्बाद बनायो, देशलाई प्रतिगमनको दिशातिर धकेल्यो, हामी त्यसको विपक्षमा छौ ।'
अहिले केपी ओली नेतृत्वकै एमालेमा रहेका सांसद राईको यतिबेला धारणा के हो ? भन्ने प्रश्न पनि उनले गरे । ओलीको प्रतिगमन कदम सच्चिएको हो कि सांसद जयकुमार राई प्रतिगमनको मतियार बनेको ? भन्ने उनले प्रश्न गरे । 'केपी ओलीको प्रतिगमन कदम सच्चिएको हो कि तपाई प्रतिगमनको दिशातिर जानु भएको हो ? तपाई प्रतिगमनको मतियार बन्नु भएको ?' नेता राईले भने, 'मलाई लाग्छ, जयकुमार राई एक इमान्दार मानिस भएको हुनाले उहाँ प्रतिगमनको मतियार बन्न सक्नुहुन्न । तपाई पनि यदि राजनीतिमा इमान्दार हुनुहुन्छ भने यसबेला दृढताका साथ गठबन्धनलाई जिताउन लाग्नुपर्ने हो । '