धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गरि स्वास्थ्य उपचार सेवा प्रवाह सुधार गर्न माग गर्दे शुरु भएको घोपा क्याम्प बचाउ आन्दोलन ५० औं दिन पुगेको छ ।

काठमाण्डौंस्थित हामी नेपाल नामको संस्थाले अगुवाई गरेर शुरु भएको आन्दोलन अहिले धरानका युवाहरुलाई जिम्मा लगाइसकेको छ । स्थानीय तह निर्वाचनले केही ओझेल परेको आन्दोलनमा धरानको मेयरमा स्वतन्त्र युवा उम्मेद्वार हर्कराज राई (साम्पाङ) निवार्चित भएसँगै उत्साह थपिएको छ । आन्दोलनलाई धरानबासीहरुको स्वामित्व दिलाउन हामी नेपालले धराने युवाहरुलाई आन्दोलनको बागडोर हस्तान्तरण गरेको विज्ञप्तीमार्फत घोषणा गरेको थियो । 

वीपी प्रतिष्ठानको डेन्टल गेटअघि निरन्तर दिउँसो ४ बजेदेखि ६ बजेसम्म धरानबासीहरु धर्नामा बस्ने गरेका छन् । प्रतिष्ठानको खस्कदो उपचार सेवा, आवश्यक मेशिनरी सामानहरु चुस्तदुरुस्त नहुँदा विरामीले बाहिर निजीमा जाँच गर्नुपर्ने बाध्यता, ओपिडीको विल काट्न, जाँच गर्न र रिपोर्ट लिन पनि घण्टौं लाइनमा उभिनुपर्ने पीडालगायतको अन्त्य गरी प्रभावकारी उपचार सेवा दिन माग गर्दै सेभ घोपा क्याम्प आन्दोलन शुरु भएको हो ।

५० औं दिन पुगेको अवसरमा मंगलबार आन्दोलनकारीहरु प्रतिष्ठान हाताभित्र प्रवेश गरेका थिए । उनीहरु प्रतिष्ठानको फोहोर जलाउने उपकरण इन्सिनेटरको स्थलगत निरीक्षण पनि गरेका थिए । आन्दोलनकारीहरुले प्रतिष्ठानको लिक्विड अक्सिनको प्लान्ट पनि नियालेका थिए भने इन्टरनेट सेवा प्रदायक सुविसुले अत्यधिक महंगो शुल्क लिइरहेकाबारे पनि जानकारी गराइएको थियो । ‘के के भएको छ, के कस्ता फोहोर छ भनेर आफै हेछौं,’ वीपी हाताभित्र प्रवेश गर्नुअघि सुदन गुरुङले भने । 

save-ghopa

इन्सिनेटर उपकरण मर्मत नहुँदा पुर्णक्षमतामा चलेको छैन । जसले गर्दा फोहोरमैला प्रतिष्ठानले दक्षिण क्षेत्रको जंगलमा फाल्ने गरेको पाइएको आन्दोलनका अगुवा सुदन गुरुङले जानकारी दिए । जंगलमा फालेको फोहोर जलाउने गरेको र त्यहाँबाट निस्केको धुँवाले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको पनि उनले बताए । 

यस्तै, धरानका अग्रज पत्रकार एवं अभियन्ता महेश श्रेष्ठले वीपी प्रतिष्ठानले जंगलमा फोहोर फाल्दा र जलाउदा पर्यावरणमा नै गम्भीर असर पुगेको बताए । फोहोर कुहदा र जलाउदा निस्कने धुँवा, तत्वहरुले रुखविरुवा, किरा फट्यांग्राहरुलाई पनि असर पुगेको उनको भनाई छ । उनले भने,‘यसले जैविक विविधतालाई असर गरिरहेको छ । अमुल्य प्राकृतिक सम्पदाहरुलाई पनि नष्ट गर्छ । स्वास्थ्य हावापानी पनि पाइदैन,’स्थलगत निरीक्षण पश्चात उनले भने ।

mahesh-sth

आन्दोलनप्रति वेवास्ता गरेपछि ३ दिनअघि प्रतिष्ठानको उपकुलपति कार्यालयमा जवाफ माग्न आन्दोलनकारीहरु पुगेका थिए । उनीहरुले उपकुलपति र अस्पताल निर्देशकलाई भेट्न सकेका थिएनन् । रेक्टर प्रा.डा. गुरु खनालले उनीहरुलाई ३ दिनको समय दिन आग्रह गरेका थिए । सोही आग्रह वमोजिम समय सकिएकोले बुधबार दिउँसो १० बजे आन्दोलनकारीहरु पुनः उपकुलपति कार्यालयमा जाने श्रृष्टी श्रेष्ठले जानकारी दिइन् ।

१० लाख लिएको देखाउन चुनौती

sudan

हामी नेपालले घोपा बचाउ आन्दोलन धराने युवाहरुलाई हस्तान्तरण गरेर फर्केको विज्ञप्ती जारी गरेपछि विभिन्न अफवाहहरु फैलिएको थियो । त्यसमध्ये एक थियो, १० लाख रुपैया लिएको । तर, हामी नेपालका सुदन गुरुङले उक्त अफवाह पुष्टि गर्न चुनौती मात्र दिएनन्, अब धरानबासीले नेतृत्व गरेको घोपा बचाउ आन्दोलनमा युवाको हैसियतमा मात्र आफुहरु सहभागी भएको र आन्दोनलबाट नभागेको प्रष्ट पारे ।

उनले आन्दोलनमा कुनै स्वार्थ र राजनीति नभएको प्रष्ट्याउदै सफलता मिल्दा हामी नेपाल संस्थालाई नभै धरानबासीहरुलाई नै श्रेय पुगोस् भनेर आन्दोलन हस्तान्तरण गरेको बताए । ‘आन्दोलन निस्वास्र्थरुपमा गरेका थियौं, कुनै राजनीतिक स्वार्थ यसमा छैन । हामीले भोली यो आन्दोलनको श्रेय हामी नेपाललाई मात्र नजाओस् भनेर धरानका युवाहरुलाई हस्तान्तरण गरेका हौं, अब यो आन्दोलनको स्वामित्व धरानेहरुको मात्र हो, हामी नेपाललाई श्रेय चाहिदैन,’उनले चुनौती दिदै भने,‘आन्दोलन चुहाउन अनेक अफवाह फैलाउने काम भएछ । सुदन गुरुङ यही छ, भागेको छैन । १० लाख दियो रे । कसले दियो ? कहाँ दियो ? कहिले र कुन खातामा दियो ? देखायोस् ।’

मेयर हर्कराज राईले भने, 'आन्दोलनमा मेरो पनि सहमति छ'

harka-sampang-padvar6

नवनिवार्चित मेयर हर्कराज राईले घोपा बचाउ आन्दोलनमा आफ्नो पुर्ण समर्थन र सहमति रहेको बताएका छन् । आन्दोलन ५० औं दिनमा डेन्टल गेटअघि पुगेर सम्बोधन गर्दै मेयर राईले प्रतिष्ठानका पदाधिकारीहरुले चाडो सम्बोधन गर्न पनि आग्रह गरे । 

उनले आन्दोलनमा कुनै पार्टीको स्वार्थ नभएको भन्दै प्रतिष्ठान सुधार हुनुपर्ने पवित्र उद्देश्य मात्र रहेको पनि बताए । आफुले पनि विगत चुनावअघि पटक पटक अभियन्ताकोरुपमा आन्दोलन गरेको स्मरण गर्दै जनताले आफ्नो अभियान र आन्दोलनलाई अनुमोदन गरेर सरकार प्रमुखकोरुपमा पठाएको पनि बताए । साथै, मेयर राईले स्थानीय सरकार प्रमुखको हैसियतमा आन्दोलनको जायज माग तत्काल सम्बोधन गर्न पत्राचार गर्ने पनि बताएका छन् ।