धरान: धरानमा कार्यपालिका सदस्यको निर्वाचन शुरु भएको छ । 

धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवन रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मतदान शुरु भएको हो । दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । मतदानको लागि २ वटा बुथ तयार गरिएको छ । मतदानको लागि कडा सुरक्षा व्यवस्था गरिएको छ । मतदाताहरुलाई मोवाइल, कलम, पर्स, घडीसमेत लैजान रोक लगाइएको छ । 

आजको निर्वाचनमा बैशाख ३० गते भएको मतदानबाट निवार्चित १०२ जना नगरसभा सदस्यहरु मतदाता छन् । मतदानबाट ८ जना कार्यपालिका सदस्यहरु निवार्चित हुनेछन् । ती मध्ये ५ जना महिला यसअघि बैशाख ३० गतेको निर्वाचनबाट नगरसभा सदस्य (वडा सदस्य)मा निवार्चित भएकाहरुमध्येबाट चुनिनेछन् भने ३ जना बाहिरबाट दलित तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु चुनिनेछन् । यो व्यवस्था नेपालको संविधानमै गरिएको छ ।

karyapalika-election2

कार्यपालिका सदस्यको लागि शुक्रबार नेकपा एमाले र गठबन्धन दलहरुले उम्मेद्वारी मनोनयन दर्ता गरेको थियो । एमालेबाट नगरसभा सदस्य रहेका ५ जना महिलाहरुबाट देवीमाया विश्वकर्मा, सावित्र परियार दर्जी, रविन गुरुङ, विनिता बज्रचार्य र सृर्जना नेपालले  कार्यपालिका सदस्यमा मनोनयन दर्ता गरेका छन् । यस्तै, दलित तथा अल्पसंख्यक कोटाबाट विकास भाटी, अनुप देवान र दिनेश विश्वकर्मालाई कार्यपालिका सदस्यमा पठाउने निर्णय एमालेले गरेको छ । 

karyapalika-election1

यस्तै, गठबन्धन दलबाट नगरसभाको महिलाहरुतर्फ कांग्रेसबाट रहिसा कसजु, रिता सुन्दास, सुशिला कुमारी श्रेष्ठ, शोभा विश्वकर्माले मनोनयन दर्ता गरेका छन् भने माओवादी केन्द्रकोतर्फबाट शेषकुमारी घिमिरेले मनोनयन दर्ता गरेकी छिन् । यस्तै, दलित तथा अल्पसंख्यक कोटामा कांग्रेसले प्रेमकुमार राई र सन्तोष विश्वकर्मालाई उम्मेद्वार बनाएको  छ भने माओवादी केन्द्रबाट सर्वजित राईलाई उम्मेद्वार बनाएको छ ।

 

karyapalika-election9

karyapalika-election8

karyapalika-election5

karyapalika-election4

karyapalika-election7