धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचन भएयता सोमबार (आज) पहिलो पटक धरानको नगर कार्यपालिका बैठक बसेको छ ।

बिहान ११ बजे समय तोकिए पनि केही ढिला गरि बैठक शुरु भएको थियो । लाइभ गर्न पत्रकारहरुलाई अनुमति दिइएको बैठक ३ घण्टा बढी समय चलेको थियो । बैठकमा प्रस्ताव भएकामध्ये आधा प्रस्तावमा छलफल र निर्णय गरेपछि समय अभावको कारण देखाउदै बैठक स्थगित भएको छ । कार्यपालिका बैठक जेठ २६ गते २ बजे हुने गरि स्थगित गरिएको छ ।

बैठकको पहिलो प्रस्ताव अनुसार मतदाताहरुलाई धन्यवाद व्यक्त गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो । यस्तै, दोस्रो प्रस्तावमा उपप्रमुख संयोजक रहने राजश्व परामर्श समितिमा २ जना कार्यपालिका सदस्यलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको थियो । जसमा देवीमाया बिक र विकास भाटीलाई बैठकले सर्वसम्मत मनोनित गरेको छ ।

dharan-karyapalika6

बैठकमा नगर प्रमुख संयोजक रहने स्रोत अनुगमन तथा बजेट निर्धारण समितिको सदस्यहरुमा मेयर राईले नियुक्त गरेका ३ जनाले नाम फिर्ता गरेका थिए । उनीहरुको ठाउँमा नरेश इवारम, नरेन्द्रकुमार राई (प्रविण), मनोज भट्टराई र सावित्रा परियारलाई मनोनयन गर्ने निर्णय सर्वसम्मत बैठकले गरेको छ । 

यस्तै, बिषयगत समितिहरुतर्फ संयोजकहरु मात्र बैठकले मनोनयन गरेको छ । जसमा आर्थिक विकास समिति संयोजकमा विनिता बज्रचार्य, सामाजिक विकास समिति संयोजकमा सृर्जना नेपाल, पुर्वाधार विकास समिति संयोजकमा अनुप देवानलाई बैठकले सर्वसम्मत मनोनित गरेको छ । वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजकमा लोकेन्द्र फागो र सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा मुरारी भट्टराईलाई मनोनयन गर्ने बैठकले निर्णय गरेको छ ।

dharan-karyapalika4

यस्तै, बैठकमा मेयर राईले चौथो प्रस्तावकोरुपमा नागरिक निगरानी तथा पृष्ठपोषण संयन्त्र गठन गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा कार्यपालिका सदस्यहरुले प्रश्न उठाएपछि कार्यविधि तयार गरेर मात्र गठन गर्ने निर्णय भएको छ । यसैगरि, नगरका गतिविधिहरुबारे जानकारी दिन सुचना संयन्त्र निर्माण गर्ने पनि निर्णय भएको छ । उक्त संयन्त्रको संयोजकमा सुशासन तथा संस्थागत विकास समिति संयोजक मुरारी भट्टराईलाई जिम्मेवारी दिइएको छ भने सदस्यहरुमा कार्यपालिका सदस्य दिनेश गजमेर, बिषयगत महाशाखा प्रमुख रहने निर्णय भएको छ । यसैगरि, छैठौं प्रस्ताव नदीजन्य पदार्थ उत्खनन् तथा दोहन नगर्ने बिषयको प्रस्तावमा लामो छलफल गरि समय अभावको कारण देखाउदै जेठ २६ गतेसम्मको लागि बैठक स्थगित गरिएको छ ।

भिडियो: