धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.राजकुमार (आर.के.) रौनियारलाई बिशेष अदालतले भ्रष्टचार मुद्दामा सफाई दिएको छ ।

बिशेष अदालतले पर्याप्त प्रमाण नभएको भन्दै रौनियारलाई सफाई दिएको हो । बिशेष अदालतको १ नम्बर इजलाश न्यायधिश श्रीकान्त पौडोल, यमुना भट्टराई र डा.खुशीप्रसाद थारुको इजालाशले रौनियारलाई सफाई दिएको हो । पुर्वउपकुलपति डा.रौनियार र उनका भतिज डा.रामहरि विरुद्ध अख्तियारले २०७६ साउन १९ गते भ्रष्टचार (घुस, रिसवत)को मुद्दा दर्ता गरेको थियो । अदालतबाट सफाई पाए पनि पुर्वउपकुलपति डा.रौनियार उपकुलपति पदमा पुर्नवहाली हुन पाउने छैनन् । उनको कार्यकाल मुद्दा चलिरहेको बेला नै गत फागुनमा सकिएको छ । 

डा.रौनियारविरुद्धको मुद्दाको पटक पटक पेशी स्थगित र हेर्न नभ्याउने भएर सर्दै आएको थियो । यो मुद्दाले समयमा नै फछयौट भएको भए उपकुलपतिमा उनी पुर्नवहाली पनि हुनसक्थे । अख्तियारले आफै पैसा लगेर गर्ने स्टिङ अप्रेशनलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि डा.रौनियारले पनि सफाई पाउने अनुमान गरिएको थियो । तर, उनको मुद्दाको फैसला हुन ढिलाई भएपछि उनी पदमा पुर्नवहाली हुन पाएनन् ।

अदालतबाट सफाई पाएका डा.रौनियारले ढिलो गरेर भएपनि आफुले न्याय पाएको प्रतिक्रिया दिए । उनले धरानमा आएर कुनै दिन पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने पनि बताए । उनले क्लिकधरानसँग फोन सम्पर्कमा भने,‘ढिलो भएपनि मैले न्याय पाए । कुनै दिन धरान आएर प्रेस कन्फ्रेन्स गरेर कुरा राख्छुँ ।’

अख्तियारले करिब २ बर्षअघि घुस लिएको रकमसहित काका र भतिजालाई  प्रतिष्ठानबाटै नियन्त्रणमा लिएको थियो । एक ठेकेदारसँग भुक्तानी दिदा बार्गेनिङ गरेर घुस लिएको रकम ८ लाख रकमसहित अख्तियारले रौनियारद्धयलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले मुद्दा दायर गरेसँगै उपकुलपति पदबाट रौनियार निलम्बित भएका थिए ।