धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुधार गर्न घोपा बचाउ आन्दोलन चर्किएपछि गठित कार्यदलको प्रतिवेदन बुझाएको छ ।

कार्यदलले एक साताको अवधिमा अध्ययन गरि तयार गरेको प्रतिवेदन आज (मंगलबार) प्रतिष्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाललाई बुझाएको हो । घोपा बचाउ आन्दोलन चर्किएपछि जेठ १६ गते धरानका मेयर हर्कराज राईको रोहवरमा समस्या पहिचान गर्न तथा अस्पताल सेवा सुधारको लागि अध्ययन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलले ७ दिनसम्म सरोकारवालहरुसँग छलफल तथा परामर्श गरेको थियो ।

प्रतिवेदन बुझ्दै निमित्त उपकुलपति डा.खनालले प्रतिवेदनमा औल्याइएको सुझावहरु अध्ययन गरि तत्काल गर्न सकिने कार्यहरु, मध्यकालिन र दीर्घकालिनरुपमा गर्नुपर्ने कामहरुको विस्तृत कार्ययोजना ५ दिनभित्र उपकुलपति कार्यालयमा पेश गर्न सम्बन्धित विभाग, शाखा र महाशाखाहरुलाई निर्देशनसमेत दिएका छन् ।

घोपा बचाउ अभियानका प्रमुख अभियन्ता सुदन गुरुङले सुधार गर्नुपर्ने बिषयलाई तत्काल १५ दिनभित्र, मध्यकालिन र दीर्घकालिन गरि ३ भागमा विभाजन गरेर प्रतिवेदनले सिफारिश गरिएको बताए । तत्काल गर्नुपर्ने कामहरु भए नभएको निरन्तर निगरानी गर्ने र कार्यान्वयन नभए आन्दोलन चर्काउने उनले बताए ।

‘मध्यकालिन र दीर्घकालिनरुपमा गर्नुपर्ने कामहरुको पनि ग्यारेन्टी गर्नुपर्ने हुन्छ । भिसि सर आएपछि हामी कुरा गछौ, र निरन्तर फलोअप गर्छौ,’गुरुङले भने,‘तत्काल गर्नुपर्ने कामहरुको केही सकरात्मक कुरा पनि देखिएको छ ।’ गुरुङका अनुसार ओपिडी काउन्टर बढाउने कुरा भएको छ भने सेक्युरिटी गार्डहरु पनि अलर्ट राखिएको छ । यस्तै, एम्बुलेन्सहरुलाई पनि कडा निगरानी गर्न थालिएको छ।