धरान: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा ताला लगाएको छ ।

आफ्ना मागहरु पुरा नभएपछि हिजो शुक्रबार संगठनको क्याम्पस कमिटीले ताला लगाएको हो । यसअघि असार ६ गते कमिटीले क्याम्पस प्रमुख समक्ष विभिन्न ४ सुत्रीय माग राखेर ४८ घण्टाको अल्टिमेटम दिएको थियो । उक्त समयसिमा भित्र मागहरुको सम्बोधन नभएपछि तालाबन्दी गरिएको कमिटीका अध्यक्ष शेखर रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार प्रत्येक नयाँ शैक्षिक सत्र शुरु हुँदा भर्ना हुने विद्यार्थीबाट स्वास्थ्य वीमा शिर्षकमा त्रिभुवन विश्वविद्यालयले ५ सयको दरले शुल्क लिदै आएको छ । तर हालसम्म प्रशासनले नजिकको सरकारी अस्पताल वा स्वास्थ्य संस्थासँग समन्वय गरेर विद्यार्थीहरुलाई यो सेवा प्रदान गरिएको छैन । यही बिषयमा संगठनले २०७७ चैतमा पनि माग पत्र क्याम्पस प्रशासनमा बुझाएको रेग्मीले जानकारी दिए । 

हालसम्म प्रत्येक विद्यार्थीबाट ५ सयको दरले उठाएको पैसा ५७ लाख ८९ हजार हुन आउने अनेरास्ववियुले जनाएको छ । यो रकमको विद्यार्थीलाई सेवा उपलब्ध गराउने वा पैसा फिर्ता गराउनेबारे स्पष्ट निचोडमा पुग्ने उक्त संगठनले माग गरेको थियो । संगठनले राखेको मागमा स्वास्थ्य वीमा लागु हुने वा नहुने स्पष्ट गर्नुपर्ने, वीमा लागु नहुने भए शुल्क बुझाएका तर क्याम्पसको पढाई पुरा गरेका विद्यार्थीको हकमा के व्यवस्था हुने, पारिवारिक स्वास्थ्य वीमा गरिसकेका विद्यार्थीको हकमा पनि वीमा शुल्क लिएको जवाफ प्रशासनले दिनुपर्ने, तत्काल अध्ययनरत विद्यार्थीको हकमा उक्त शुल्कलाई कसरी समायोजन गर्ने भन्ने जानकारी दिन पनि संगठनले माग गरेको छ । 

mmc1