धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको नयाँ नेतृत्व चयनको लागि निर्वाचन शुरु भएको छ ।

धरान १ स्थित संघको कार्यालयमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । मतदानको लागि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । संघको मतदाता २९७४ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणना कार्य भने भोली बिहान ७ बजेदेखि मात्र हुनेछ । 

संघको एक जना अध्यक्ष, ८ जना वाणिज्य सदस्य, ४ जना उद्योग सदस्य, २ जना वस्तुगत सदस्य र १ जना महिला सदस्यको लागि निर्वाचन भइरहेको हो । अध्यक्ष पदमा ३ जना उम्मेद्वार रहेका छन् । अध्यक्षमा लोकतान्त्रिक गठबन्धनबाट विजय श्रेष्ठ उम्मेद्वार छन् भने बामगठबन्धनबाट शिवराज श्रेष्ठ उम्मेद्वार छन् । विजय श्रेष्ठ यसअघि पनि अध्यक्षका उम्मेद्वार थिए, र वर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग झिनो मतले पराजित भएका थिए । 

यस्तै, शिवराज श्रेष्ठ वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए । यसैगरि, अध्यक्ष पदमा संघका पुर्वअध्यक्ष पवन अग्रवालले पनि उम्मेद्वारी दिएका छन् । विजय श्रेष्ठ र शिवराज श्रेष्ठले आ आफ्नो प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यता अग्रवालको भने प्यानल छैन ।

संघको ८ जना वाणिज्य सदस्य पदको लागि २१ जना उम्मेद्वार छन् भने ४ जना उद्योग सदस्यमा ८ जना, २ जना वस्तुगत सदस्यको लागि ४ जना र १ जना महिला वाणिज्य सदस्य पदमा २ जनाको उम्मेद्वारी परेको छ । यसअघि एशोसिएटतर्फ ३ जना र उद्योग महिलातर्फ १ जना सर्वसम्मत निवार्चित भइसकेका छन् ।