धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको आइतबार मतदान सकिएको छ । 

शान्तिपुर्णरुपमा मतदान सकिए पनि वस्तुगतर्फ मतदाता भन्दा एक भोट बढी खसेको पाइएको छ । भोली बिहान ८ बजेदेखि मतगणना शुरु गर्ने भनिए पनि वस्तुगततर्फको यो समस्या गरेर मात्र गणना कार्य शुरु गर्ने निर्वाचन अधिकृत डा।राजेन्द्र शर्माले जानकारी दिए । ‘वस्तुगततर्फ १८ मतदाता थिए, १९ मत खसेको छ । भुलवश १९ वटा मतपत्र काटिएको पाइयो,’ उनले भने,‘मतगणना अघि त्यसबारे निर्णय गरेर मात्र शुरु गछौं ।’

वस्तुगततर्फ २ जना सदस्य पदको लागि ४ जना उम्मेद्वार छन् । ती उम्मेद्वारसहित छलफल गरेर सहमति जुटाएर अघि बढ्ने निर्वाचन अधिकृत शर्माले बताए । ‘सहमतिको सम्भावना खोज्छौं । मतपत्र नहेरिकन एउटा थुतेर नष्ट गर्ने कि रि पोलिङ गर्ने कि रु त्यसबारेमा सहमति गछौं,’उनले भने,‘१८ जना मतदाता धरानभित्रैका छन्, रिपोलिङ पनि आधाघण्टाभित्र भइहाल्छ ।’

संघको अध्यक्ष पदमा विजय श्रेष्ठ, शिवराज श्रेष्ठ र पवन अग्रवालले उम्मेद्वारी दिएका छन् । श्रेष्ठद्धयले आ आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने अग्रवाल प्यानल विना अध्यक्षमा लडेका हुन् । 

संघको कुल मतदाता २९७७ जना थिए । त्यसमध्ये २२७८ मत खसेको पनि अधिकृत डा।शर्माले जानकारी दिए । वाणिज्यतर्फ १८५९ जना मतदाता भएकोमा १४ सय मत खसेको छ भने उद्योगतर्फ १००३ जना मतदातामध्ये ७८२ मत खसेको छ । यसैगरि, एशोसिएटतर्फ ९८ मतदातामध्ये ८७ मत खसेको छ भने वस्तुगतमा १८ मतदातामा १९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।