विराटनगर:  प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । 

साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु हुने र त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना रहेको उनले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज (सोमबार) आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नामकरणका बेला हुन सक्ने सुरक्षा चुनौतीका बारेमा सजग रहन पनि आग्रह गरे । 

प्रदेश नामकरणका लागि प्रदेश सभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकबाट एउटा खाका आउनसक्ने पनि मुख्यमन्त्री राईले बताए । ‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,’ मुख्यमन्त्री राईले भने, ‘मलाई लाग्छ त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला ।’ उनले उक्त सर्वदलीय बैठकपछि साउन ८ गतेबाट प्रदेश सभाको बैठक सुरु हुने र साउन १५ गतेको आसपासमा नामकरणको प्रक्रिया सुरु हुने कुरा दोहोर्याए । उनले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेश सभाको भएको उल्लेख गर्दै सरकारले यसमा सहजीकरणमात्रै गर्ने बताए । 

यसैबीच, मुख्यमन्त्री राईले कोरोना संक्रमण बढ्दै जान थालेकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका उपाय अपनाउनेतर्फको रणनीति बनाउन निर्देशन पनि दिएका छन् । उनले जुनसुकै प्रकारका सुरक्षा चुनौती सामना गर्नेगरी तयारी अवस्थामा रहन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखसहित नेपाली सेना भैरव गणका गणपति, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो ।