धरान: धरानका मेयर हर्क साम्पाङले आदिवासी पुर्खाहरुले विकास गरेको सँस्कृति, सँस्कार, भाषा र भेषभुषा नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताएका छन् ।

मंगलबार धरानमा २८ औं विश्व आदिबासी दिवस मनाउने क्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो बताएका हुन् । उनले विश्वव्यापीकरणको प्रभावले गर्दा विदेशी सँस्कृति, फेसन, व्यापार, सामान र सेवाहरु भित्रिदा आदिबासी पुर्खाहरुले विकास गरेको मौलिक भाषा, सँस्कार, सँस्कृति र पहिचान जोगाउन चुनौतीको सामाना गर्नुपरिहेको बताए । मेयर साम्पाङले सबै मिलेर, एकअर्काको अस्तित्व स्वीकार गरेर एकअर्कालाई सम्मान गर्दै अस्तित्व, सँस्कार, सँस्कृति र भाषा, लिपीलाई बचाइराख्नुपर्ने पनि बताए । 

Adibasi9

उनले आफ्नो कार्यक्षेत्र नभएपनि प्रदेश नं १ को नाम आदिबासी प्रदेश राख्न पनि सुझाव दिए । प्रदेश १ को नाम के राख्ने भनेर लडाई भइरहेको भन्दै उनले भने,‘नाम राख्ने काम प्रदेशसभा सदस्यहरुको हो । एउटा भनु भने अर्कोको मन दुख्ने । त्यसैले वैज्ञानिकताको आधारमा ऐतिहासिकताको पृष्ठभुमी मिलाएर अघि बढ्नुपर्छ । साह्रै साह्रै भएन भने आदिवासी प्रदेश राखिदिउ न त नाम भन्ने मेरो सानो सुझाव मात्र हो ।’

साम्पाङले आदिबासी भन्ने बित्तिकै प्रकृति प्रेमी, प्रकृति पुजक भन्ने अर्थ लाग्नुपर्ने बताए । उनले ‘खोलानाला रसाइरहनुपर्छ । डाँडा पाखा हरियाली भइरहनुपर्छ । त्यही भएर वृहत वृक्षारोपण अभियानमा छुँ । हामी आदिबासी प्रकृति संरक्षक हौ, प्रकृति प्रेमी हौ, प्रकृति पुजक हौं ।’

Adibasi6

आदिवासी जनजाति महासंघ धरान नगर समन्वय परिषदका अध्यक्ष सुवास हुक्पा चोङबाङको अध्यक्षतामा आयोजित कार्यक्रममा उपमेयर अइन्द्रबिक्रम बेघाले पनि मन्तव्य व्यक्त गर्दै आदिवासी जनजातीहरुको हकअधिकार केही हदसम्म भएपनि स्थापित हुनसकेको बताए । यस्तै, आदिबासी जनजाति महासंघ सुनसरीका पुर्वअध्यक्ष सुजेन्द्र गोले तामाङले अदिबासी जनजातिको हकअधिकार स्थापित गर्न निर्वाचनमा आफ्नो समुदायलाई जिताएर पठाउनुपर्ने बताए । कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान दिएका किरण लामा, पत्रकारिता क्षेत्रबाट लम्जेल संघर्षशिल र निमा पोङ्सुवालाई पनि सम्मान गरिएको थियो । धरान १५ स्थित चुम्लुङ हिममा कार्यक्रम हुनुअघि धरान १२ स्थित पब्लिक हाईस्कुलबाट साँस्कृतिक झाँकीसहित वृहत र्याली निकालिएको थियो । 

भिडियो:

Adibasi1

Adibasi2

Adibasi3

Adibasi4

Adibasi5

Adibasi7

Adibasi8