धरान: बसाई हिड्नेको तातीले.., आमा दिदी बैनी हो...जस्ता जनवादी तथा कालजयी गीतका गायक जेबी टुहुरेको निधन भएको एक बर्ष पुग्यो । उनको बार्षिको अवसरमा शुक्रबार धरानमा जेबी टुहुरे स्मृति सन्ध्या तथा श्रष्टा सम्मान कार्यक्रम भव्यरुपमा भयो ।

जेबी टुहुरे फाउण्डेशनले भानुचोकमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थिए । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलगायत बिशिष्ट अतिथिहरु थिए भने कलाकार, सर्वसाधारण नागरिकहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो । 

कार्यक्रममा जेबी टुहुरेले गाएको चर्चित गीत बसाई हिड्नेको तातीले बोलको गीतका रचनाकार लव प्रधानलाई स्रष्टा सम्मान गरिएको थियो । उनलाई नगद १ लाखसहित सम्मान पत्र, ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रमुख अतिथि प्रचण्डसँगै मुख्यमन्त्री राई, प्रदेश सभामुख भण्डारी, स्वर्गीय टुहुरेकी श्रीमतिलगायतले प्रधानलाई सम्मान गरेका थिए । फाउण्डेनले हरेक बर्ष एक जना स्रष्टालाई सम्मान गर्ने घोषणासमेत गरेको छ ।

jb4

ईलाममा जन्मिएका सम्मानित स्रष्टा प्रधान पछि विराटनगर बसोबास गरेका थिए । उनी करिब १६ बर्षको उमेरदेखि नै माक्र्सवादतर्फ आकर्षित भएर सामाजिक न्याय र परिवर्तनको पक्षमा लागेका थिए । उनी पटक पटक जेलसमेत परे । जेबी टुहुरेसँग प्रधानको भेट भएपछि बसाई हिड्नेको तातीले बोलको कालजयी गीत तयार भएको थियो । दुवैको प्रगाढ मित्रता थियो । 

गत बर्ष निधन भएका गायक जेबी टुहुरे (जुठ बहादुर खड्गी)को जन्म धरान ३ मा भएको थियो । उनले नयाँ लहर समुह, संकल्प गीति कार्यक्रम समुह हुदै आफ्नो गीति यात्रा प्रारम्भ गरेका थिए । उनले २०३३ सालमा पहिलो पटक धरान १० स्थित भूपू सैनिक भवनमा आमा दिदी बैनी हो..बोलको चर्चित र कालजयी गीत सार्वजनिक गरेका थिए । 

jb5

पुर्वप्रधानमन्त्री प्रचण्डले स्वर्गीय गायक टुहुरेको स्मरण गर्दै उनी संगीतको धरोहर भएको बताए । आफुले आन्दोलनको क्रममा गुनगुनाउदै हिड्ने गीतको गीतकार (प्रधान)लाई सम्मान गर्न पाउदा हर्ष र गर्व महशुस भएको बताए । साथै उनले टुहुरेलाई संविधानसभा सदस्य बनाएको स्मरण गर्दै आफुले ठिक काम गरेछुँ भन्ने लागेको पनि बताए । जनवादी, प्रगतिशिल साहित्य र संगीतको क्षेत्रमा गायक टुहुरेले गरेको योगदानलाई आफुले गरेको सम्मानको अर्थ र महत्व अझ ठुलो भएको अनुभूत गरेको प्रचण्डले बताएका थिए । साँझ कार्यक्रममा गायक गायिकाहरुले स्वर्गीय टुहुरेका गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए । 

jb1

jb2

jb3

jb6

jb7