इटहरी: नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा शनिबार सञ्चारकर्मी दाहलकै घरमा पुगेर युनियन सुनसरीले दुर्घटनावापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । रकम हस्तान्तरपछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने उल्लेख गरे । उनले भने, 'पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि म सँग संस्था छ, म सँग समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो ।'

बीमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभएपनि संस्था साथमा रहेको अनुभूति गर्नु महत्वपूर्ण रहेको उनले बताए । प्रेस युनियनको उक्त कार्य सराहनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे । पत्रकारले सबै समस्याको सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहने राज्यले पत्रकारका समस्यामा राज्यको लगानी नभएको उनको तर्क छ । पत्रकारलाई समस्या पर्दा अभिभावक ग्रहण गर्नका लागि राज्य पनि नदेखिएको भन्दै पोखरेलले पत्रकार आफैँले आर्थिकदेखि सामाजिक रूपमा परिपक्क बनाउनुपर्ने बाध्यता रहेको बताए । 

कार्यक्रममा दुर्घटना पीडित दाहालले आफू दुर्घटना भएपश्चात अस्पतालमा भर्ना भएकै दिनदेखि प्रेस युनियन सुनसरीले आवश्यकीय सहयोग गरेको बताए । युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले आफूले युनियनको नेतृत्व सम्हालिसकेपछि पत्रकारितामा सक्रियहरूको हितको निम्ति काम गरिरहेको बताए ।

अजोड इन्स्योरेन्ससँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका २७४ जना सञ्चारकर्मीहरूको दुर्घटना बीमा गरेको उनले जानकारी दिए । उनले कोरोनाकालमा कोरोना बीमाको ३० जना सञ्चारकर्मीलाई ३० लाख रुपैयाँ समेत हस्तान्तरण गरिएको पनि बताए । पत्रकार दाहाल एक महिना अगाडि सवारी दुर्घटनामा परी घाइते भएका थिए । उनको बिल बापतको रकम एक साता अगाडि अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा आवश्यक कागजपत्रसहित बुझाएको अधिकारीले जानकारी दिए ।