धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट पनि आफ्नो नाम सिफारिश हुनुमा आफ्नो चाहना, इशारा वा हात नभएको प्रष्ट पारेका छन् । 

मुख्यमन्त्री राईले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहजिल्ला भोजपुरबाहेक सुनसरी १ बाट सिफारिश भएको बिषयमा प्रष्ट पार्न जरुरी रहेको भन्दै आफ्नो कुनै हात वा चाहना नभै नितान्त पार्टीको मुल्यांकन र चाहनाको आधारमा भएको बताएका हुन् । उनले भोजपुर छोडेर अन्यत्र उम्मेद्वार नबन्ने पनि बताएका छन् । 'दुबै जिल्लाबाट भएको सिफारिस नितान्त पार्टीको आफ्नो मुल्यांकन र चाहनाको आधारमा भएको हो यसमा मेरो कुनै हात/इसारा/सन्केत/माग/चाहना जोडिएको छैन,'उनले भनेका छन् । 

मुख्यमन्त्री राईले आफु पार्टीको एक अनुशासित कार्यकर्ता भएकोले पार्टीको निर्णय सधै मान्न पर्ने पनि उल्लेख गरेका छन् । अहिले खास उद्देश्यका लागि पार्टी गठबन्धनमा भएको र गठबन्धनबाटै चुनाव लड्ने निर्णयमा पार्टी भएकोले उम्मेद्वारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान आफु तयार रहेको मुख्यमन्त्री राईले उल्लेख गरेका छन् । 'गठबन्धनभित्र उछिनापाछिन गर्ने पक्षमा म छैन । नेताले चुनाव लड्नै पर्छ, साम्सद बन्नै पर्छ भन्ने नि छैन, पार्टी र गठबन्धनले मलाइ उम्मेदवार नबनाउने निर्णय गर्यो भने म उम्मेदवार नबन्न तयार छु,'उनले भनेका छन् । 

मुख्यमन्त्री राईले भोजपुर आफ्नो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला भएकोले भोजपुरप्रति आफ्नो अगाध माया रहेको पनि उल्लेख गरेका छन् । 'भोजपुरे जनताले मलाई माया र बिश्वास गरिराखेको भन्दै उनले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो ०.१ प्रतिशत पनि चाहना/सोच छैन र भोजपुरे जनताले माया र बिस्वास गरेसम्म म सांसद, मन्त्री केही नभई भुइमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु । त्यसैले सांसद, मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच/चाहना छैन,'मुख्यमन्त्री राईले भनेका छन् । 

मुख्यमन्त्रीको फेसबुक स्टाटस यस्तो छ: