धरान: आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) ले सुनसरी निर्वाचन क्षेत्र नं १ बाट नेता अशोक राईसहित ३ जना उम्मेद्गवारको नाम प्रत्यक्षतर्फ सिफारिश गरेको छ ।
पार्टीको क्षेत्रीय समितिको बैठकले प्रत्यक्षसँगै समानुपातिकतर्फका उम्मेद्वारहरुको नाम पनि सिफारिश गरेको हो । पार्टीको क्षेत्रीय अध्यक्ष नरेन्द्र पारघरी लिम्बुका अनुसार प्रतिनिधि सभा निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ अशोक राईको नाम प्रस्ताव गरिएको छ । यस्तै, विकल्पमा दिपक मेन्याङ्बो र भीम राईको नाम पनि सिफारिश गरिएको उनले जानकारी दिए ।
प्रत्यक्षमा सिफारिश भएका अशोक राई पार्टीको संघीय परिषद अध्यक्ष छन् भने विकल्पमा सिफारिशमा परेका दुवै नेता केन्द्रीय सदस्य हुन् । अशोक राई २०७५ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेद्वार थिए । त्यसबेला नेपाली कांग्रेसले जसपा उम्मेद्वार राईलाई समर्थन गरेपनि एमालेका उम्मेद्वार जयकुमार राईसँग दोब्बर मतले पराजित भएका थिए ।
यसैगरि, पार्टीले सुनसरी क्षेत्र नं १ निर्वाचन क्षेत्र (१) बाट प्रदेश सदस्यका लागि प्रत्यक्षतर्फ नगेन्द्र लिम्बु, सुमित्रा राई र कृष्ण लिम्बुको नाम सिफारिश गरेको छ । समानुपातिकतर्फ दुर्गामाया लिम्बु, दिपक मेयाङ्बो, भीम राई, नरेश बिक, बलबहादुर मगर (क्षितिज)को नाम सिफरिश भएको क्षेत्रीय अध्यक्ष लिम्बुले जानकारी दिए ।
निर्वाचन क्षेत्र (२) बाट प्रत्यक्ष उम्मेदवारमा सन्देश राई, लिला राई, मोहन राई, प्रदिप कार्की र हेमराज याक्खाको नाम सिफारिश भएको छ भने समानुपातिकतर्फ बिना पुमा राई, एसा सुनुवार, शशीकुमार बिक, बिपिन इवारम, तेन्जिङ शेर्पा, गोबिन्द प्रसाद राई, मणि राई, सीता राईको नाम सिफारिश भएको छ ।