धरान: उद्योगले फिर्ता नलगेपछि म्याद गुज्रिएको ठुलो परिणामको चिजवल नष्ट गरिन थालिएको छ । 

सोमबार धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा प्रहरी प्रशासन, उद्योग वाणिज्य संघसहितको टोलीले स्थलगत अनुगमन तथा मुचुल्का उठाएर नष्ट गर्ने प्रक्रिया अघि बढाइएको हो । धरान ९ स्थित बिएस फुड्स एण्ड सप्लायर्सले बिक्रीको लागि ल्याएको चिजवल करिब एक बर्षअघि नै म्याद गुज्रिएको थियो । मकवानपुरको हेटौडास्थित एसजी फुड्सले उत्पादन गरेको उक्त चिजवल म्याद गुज्रिन लागेदेखि नै पहल गरेपनि उद्योगले फिर्ता नलगेको सप्लायर्सका सञ्चालक विकास प्रधानले जानकारी दिए । 

cheejball1

लामो समयदेखि फिर्ता लैजान पहल गर्दा पनि नलगेको र हाल उद्योग नै बन्द अवस्थामा रहेकोले स्थानीय सरकार, उद्योग वाणिज्य संघलाई जानकारी गराएर नष्ट गर्ने प्रक्रिया अघि बढाएको प्रधानले जानकारी दिए । उनले म्याद गुज्रिएको समान बजारमा बिक्री नभएको र बजारबाट पनि म्याद गुज्रिएपछि समान फिर्ता आएको उनले बताए । 

बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले उद्योगले समान फिर्ता नलगेपछि लामो समयदेखि गोदाममा थन्किएको र व्यवसायीले नै जानकारी गराएपछि अनुगमन, मुचुल्का उठाएर नष्ट प्रक्रिया अघि बढाइएको बताए । म्याद गुज्रिएको चिजवललाई धरान ६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्रमा लगेर नष्ट गरिने पनि उनले जानकारी दिए ।