धरान: किराती सभ्यता एवं मिथकमा आधारित नाटक खुवालुङ सोमबारदेखि धरान ८ स्थित सभागृहमा मञ्चन हुने भएको छ । 

धरानमा किरात राई यायोक्खा सुनसरीको सहकार्य तथा सहयोगमा मञ्चन हुन लागेको हो । नाटकका लेखक राजन मुकारुङ, निर्देशक किरण चाम्लिङसहित कलाकारहरुले आइतबार पत्रकार सम्मेलन गर्दे सोमबार बेलुकी साढे ५ बजे नाटक मञ्चन हुने जानकारी दिएको हो । नाटक आगामी असोज ५ गतेसम्म दैनिकरुपमा मञ्चन हुनेछ । 

निर्देशक चाम्लिङका अनुसार शुक्रबार, शनिबार र आइतबार दिउँसो १ बजे र बेलुकी साढे ५ बजे मञ्चन हुनेछ भने अन्य दिन बेलुकी साढे ५ बजे मात्र मञ्चन हुनेछ । काठमाण्डौमा यो नाटक सफलतापुर्वक ४२ शो मञ्चन भएको थियो । धरानमा मञ्चन गर्न पाउदा ज्यादै खुशी लागेको निर्देशक चाम्लिङले बताए ।

khuwa

नाटकका लेखक मुकारुङले खुवालुङ समग्र नेपाली कला, सँस्कृति माया गर्नेहरुले हेर्नुपर्ने बताए । उनले खुवालुङ साँस्कृतिक सम्पदा भएकोले राज्यले संरक्षण गर्नुपर्ने पनि बताए । साथै, सम्बन्धित समुदाय अझ बढी जागरुक हुनुपर्ने उनले बताए । 

यो नाटक केवल खुवालुङ जोगाउन मात्र नभएर नेपालका सबै जाति, भाषी र समुदायको सभ्यता, सँस्कृतिक सम्पदाहरु जोगाउनुपर्छ भन्ने उद्देश्य रहेको पनि उनले बताए । ‘यो नाटक केवल खुवालुङ जोगाउनको लागि मात्र होइन, यो देशमा सबैको साँस्कृतिक सम्पदाहरु, सभ्यताका कथाहरु छन्, इतिहासहरु छन् । ती सबै खुवालुङहरुको साँस्कृतिक महत्वलाई सबैले साझारुपमा बचाएर ल्याउनुपर्छ भन्ने मुल उद्देश्य हो,’उनले भने । 

khuwalung1

यायोक्खा अध्यक्ष राजेन्द्र राईले किरातीहरुको आदिम दस्तावेजहरु लिखितरुपमा नभएकोले खुवालुङ नाटक दस्तावेजीकरण, इतिहास निर्माणको रचनात्मक काम भएको बताए । ‘खुवालुङ हाम्रो आस्थाको केन्द्र हो । खुवालुङ हाम्रो पहिचान, र आन्दोलन हो । किरातीहरुको आदिम दस्तावेजहरु लिखितरुपमा छैन, दस्तावेजीकरण गर्न राजन मुकारुङले आफ्नो क्षेत्रबाट खुवालुङ नाटक लेखन र मञ्चन गर्नुभयो,’उनले भने,‘खुवालुङको दस्तावेजीकरण, इतिहास निर्माणको यो रचनात्मक काम हो ।’

भिडियो: