धरान: दशैं शुरु भएसँगै महंगी बढेको जनगुनासो आएपछि मंगलबार धरान उपमहानगरपालिकाको नेतृत्वमा बजार अनुगमन गरिएको छ । 

उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा डिपार्टमेन्ट स्टोर, मासु पसल, औषधी पसलको अनुगमन गरिएको हो । अनुगमन टोली सबैभन्दा पहिला धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटमा पुगेको थियो । त्यहाँ अनुगमन टोलीले सामानहरुको खरीद मुल्य प्राप्त गर्न सकेन । कर्मचारीले केन्द्रबाट नै मुल्यको स्टिकर टाँसेर पठाउने र खरीद मुल्य आफुहरुलाई थाह नहुने जवाफ दिएका थिए । 

anugaman3

खरीद मुल्य उपलब्ध नभएपछि अनुगमन टोलीले उपभोक्ताहरुलाई कतिमा खरीद गरेर कति नाफामा भाटभटेनीले सामान बिक्री गरिरहेको छ भन्ने थाह पाउन सकेन । यस्तै, अनुगमनको क्रममा डेटएक्स्पायर सामानहरु छुट्टै राख्ने ठाउँ पनि नभेटिएकोले त्यो व्यवस्था गर्न सुझाव दिएको उपमेयर बेघाले जानकारी दिए । कर्मचारीहरुले अहिले दिनहुँ सामान काठमाण्डौंबाट आइरहेको हुनाले डेट एक्सपायर भएको सामानहरु पनि दैनिकरुपमा नै गाडीमा पठाउने गरिएको बताएका थिए । 

चामलमा प्रिन्ट भन्दा बढी मुल्य

anugaman1

भानुचोक (पुतलीलाइन)स्थित सैलुङ स्टोरमा अनुगमन टोलीले चामलको मुल्य एमआरपि (प्रिन्ट भएको मुल्य) भन्दा बढी लिएको भेटाएपछि उक्त स्टोरसहित सप्लायर्सलाई स्पष्टीकरण सोधेको छ । 

ज्ञान ब्राण्डको चामलमा एमआरपि (अधिकतम बिक्री मुल्य) भन्दा झण्डै ३ सय बढीको अर्को मुल्य स्टिकर राखेको फेला परेको थियो । सञ्चालकहरुले सप्लायर्सबाट नै बढी मुल्यमा चामल आएकोले उपभोक्तालाई पनि बढी मुल्य लिनुपरेको बताएका थिए । त्यसपछि, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिमार्फत सप्लायर्स बाबा शिव ट्रेडर्सका अमित अग्रहरीलाई झिकाइएको थियो । 

anugaman

उनले मुल्य बढेर आएको नयाँ चामलको बिलमा गल्तीवश पुरानो रेटको चामल सप्लाई हुँदा समस्या भएको बताएका थिए । सैलुङले स्टिकर टाँसेर बेच्न राख्नुअघि आफुलाई जानकारी गराएको भए यो समस्या नहुने भन्दै अग्रहरीले कमजोरी भएको स्वीकार गरे । त्यसपछि, अनुगमन टोलीले धरान ८ स्थित उनको पसलमा पनि गएर अनुगमन गरेको थियो । तर, त्यहाँ ज्ञान ब्राण्डको चामल फेला फेला पर्न सकेन । 

अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार अनुगमन टोलीले सैलुङ स्टोर र सप्लायर्स बाब शिव ट्रेडर्स दुवैलाई स्पष्टीकरण दिन पत्र थमाइएको छ । दुई दिनभित्र स्पष्टीकरण पेश भएपछि अनुगमन समितिले बैठक बसेर निर्णय गर्ने उनले बताए । यस्तै, मासु पसलमा दर्ता नभएको र सरसफाई नभएको भेटिएको उनले बताए । औषधी पसल दर्ता नवीकरण नभएको पाइएको उनले बताए । 

भिडियो: